काठमाडौं । विज्ञान र प्रविधिको विकासले जस्तोसुकै परिकल्पनालाई पनि वास्तविकतामा बदल्न सफल विश्व मानव समुदाय आज कोरोना महामारीको अगाडि निरीह सावित भएको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको ६ महिना बितिसकेको छ । तापनि साबुनपानीमा निर्भर चिकित्सा विज्ञान र अबका दिन अझै चुनौतिपूर्ण देखिन्छ । सन् २०१९ डिसेम्बर ३१ मा चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भाइरल निमोनियाको रुपमा देखा परेको भाइरस संक्रमण विश्वभर महामारीको रुपमा फैलिएको छ । महामारीले आज विश्व मानव समुदाय इतिहासकै सकटपूर्ण अवस्थामा बाँचिरहेको छ ।
शुरुमा नोबेल कोरोना भाइरस र पछि विश्व स्वास्थ्य संगठनले कोभिड नाइन्टिन नामाकरण गरिएको रोगबाट वृद्ध–वृद्धा, मधुमेह, उच्च रक्तचाप, दमजस्ता दीर्घरोगीमा संक्रमणको उच्च जोखिम देखिंदा यस्ता बिरामीको जीवन रक्षा थप चुनौतीपूर्ण बनेको छ । महामारीले लाखौं मानिसको ज्यान लिइसकेको छ । संक्रमणको तिब्र विस्तार रोक्न लागू गरिएको लकडाउनका कारण विश्वभरका कलकारखाना, व्यापार व्यवसाय लगायत सम्पूर्ण आर्थिक गतिविधिहरु बन्द प्रायः छन् ।
विश्वभरका शेयर बजारमा उच्च अंकले गिरावट आएको छ भने कच्चा तेलको मूल्य दुई दशक यताकै न्यून बिन्दुमा झरेको छ । विश्व अर्थतन्त्रको आपूर्ति श्रृखला नै अवरुद्ध भएको छ । महामारी अझै बढ्दै गएमा सन् २०२० मा समस्त विश्वभर खाद्य संकट आउन सक्ने, खाद्यान्नको मूल्यमा वृद्धि हुने र गरीबीको रेखामुनि रहेका जनसंख्याको खाद्य पहुँचमा समेत असर पर्ने आँकलन गरिएको छ ।
कलकारखाना, उद्योगधन्दा, उत्पादन, सवारी साधन लगायत वायु प्रदुषण गर्ने क्रियाकलाप प्रायः ठप्प भएका कारण विश्वभरको वायुको गुणस्तरमा भने सुधार आएको छ । शक्ति, स्रोत र प्रविधिले सम्पन्न राष्ट्र र लाखौं, करोडौं अन्वेषण गरिसकेका विश्वका वैज्ञानिकलाई कोरोना टाउको दुखाईको विषय बनेको छ ।
सबै विज्ञानलाई छोडेर समाज परम्परागत छोइछिटोमा फर्कनु परेको छ । यस्तै विश्वको सबैभन्दा उत्कृष्ट र शुन्य त्रुटि रहेको चिकित्सा विज्ञान जनस्वास्थ्यको सामान्य स्वास्थ्य विधि साबुन पानीले हात धुनेमा सीमित बनेको छ । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुनाले संक्रमित व्यक्ति र यसको लक्षण देखिएका शंकास्पद व्यक्तिबाट टाढा रहनु नै यसबाट बच्ने मुख्य उपाय बनेको छ । विश्वका वैज्ञानिकहरु रात दिन अनुसन्धानमा लागि परेका छन् तर रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधिको विकास हुन सकेको छैन । वैज्ञानिकहरुको अहिलेसम्मको प्रयास जंगलको रुवाई मात्रै भएको छ । तसर्थ, यस विषम परिस्थितिमा महामारीबाट बच्नको लागि नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्ने र व्यक्ति व्यक्ति बीचको सामाजिक दूरी कायम गर्नु उत्तम विकल्प हो ।
शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गर्नु पनि रोगबाट बच्ने उपाय भएकोले नियमित रुपमा स्वच्छ तथा पौष्टिक आहार सेवन गर्ने र नियमित योग तथा व्यायाम गर्न विज्ञहरुले सुझाएका छन् ।