कमला हमालकाठमाडौं । प्राज्ञ गोपीरमण उपाध्यायले आफ्ना सबै कृति सर्वाधिकारसहित जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेडलाई हस्तान्तरण गर्नुभएको छ । प्राज्ञ उपाध्यायले बिहीबार कार्यक्रममा आफ्ना सबै कृति जनता प्रकाशनलाई हस्तान्तरण गर्नुभएको हो ।
जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेड कम्पनीका अध्यक्ष डा विजयकुमार पौडेल र प्राज्ञ उपाध्यायबीच पुस्तक हस्तान्तरणसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार प्राज्ञ उपाध्यायले लेख्नुभएका लेख, रचना तथा पुस्तकको आवश्यकता अनुसार छपाई, विक्रीवितरण र संरक्षणको सम्पूर्ण जिम्मेवारी कम्पनीलाई दिइएको छ ।
पुस्तक हस्तान्तरण कार्यक्रममा प्राज्ञ उपाध्यायले आफूले जीवनभर लेखेका पुस्तकलाई संरक्षण गर्दै भावी पुस्तामाझ पुर्याउन संस्थालाई हस्तान्तरण गरेको बताउनुभयो । ‘म ७५ वर्ष पुगेँ, आफूले अहिलेसम्म लेखेका पुस्तक पछिसम्म अब कसरी सुरक्षित पार्ने ? जनता प्रकाशनलाई दिए सुरक्षित हुने र भावी पुस्तासम्म पुग्छ भन्ने लाग्यो’ उहाँले भन्नुभयो, घत्यही भएर मैले आजसम्म लेखेका सबै किताब जनतालाई दिएको छु । यसको अर्थ सबै पुस्तक जनतालाई बुझाएर लेखनबाट बाहिरिन खोजेको, निस्क्रिय हुन खाजेको चाँहि होइन । किताब बुझाए पनि मेरो सक्रियता रहनेछ ।’
कम्पनीका अध्यक्ष डा पौडेलले प्राज्ञ उपाध्यायका रचनाले नेपालको मार्क्सवादी विचारलाई जीवन्त राख्ने बताउनुभयो । यसका लागि कम्पनीले पूर्ण जिम्मेवारी लिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कम्पनीका बोर्ड सदस्य लंकबहादुर केसीले प्राज्ञ उपाध्ययद्वारा हस्तान्तरित पुस्तकले कम्पनीको जिम्मेवारी बढेको बताउनुभयो ।
प्राज्ञ उपाध्यायका प्राकृतिक भौतिकवाद, पूर्वीय भौतिकवाद, बौद्ध दर्शनः एक सरल अध्ययन, वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन, प्रगतिवादी समालोचना, राजनीतिक ज्ञान र शिक्षाका आधारहरु, दार्शनिक निबन्ध, कार्लमार्क्स र कृतित्व लगायत आफ्नै लेखनका ९ र अनुदित १२ गरी २१ पुस्तक हस्तान्तरण गरिएको छ ।