काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ का चार कृति एकैसाथ सार्वजनिक गरिएका छन् । प्रेक्षितको ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् ।
‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा दुई सय ११ ओटा हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित हाइकु प्रेक्षितले २०४९ देखि २०७५ को अवधिमा रचना गरेका करिब एक हजार दुई सय हाइकुमध्येबाट उत्कृष्ट दुई सय ११ ओटा छनोट गरी सङ्ग्रहमा समावेश गरिएको बताउनुभयो । त्यस्तै प्रेक्षितको ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना सहितका विषयमा रचिएका ४० ओटा कविता समावेश छन् ।
यसै गरी समालोचना कृति ‘काव्य परिशीलन’ मा विभिन्न समयमा लेखिएका ‘छन्द सिद्धान्त र नेपाली छन्द कविता परम्परा’ लगायत अनुसन्धानपरक १२ ओटा समालोचनाहरू समावेश छन् । कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ । दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैलीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययनकाव्य परिशीलनमा समेटिएका छन् ।
यसै गरी प्रेक्षितको चौथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवम् समीक्षाहरूको सङ्ग्रह हो । भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे उहाँले विभिन्न समयमा लेखेका २१ ओटा भूमिका एवम् समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् ।
‘प्रेक्षितका यी कृतिहरू गत वर्षको अन्त्यतिर प्रकाशित भएका भए पनि हालै सार्वजनिक गरिएका हुन । गत चैत्र २८ गते विमोचन गर्ने कार्यक्रम रहेको भएता पनि कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि कृतिहरू विमोचन हुन सकेका थिएनन् । प्रेक्षितका कृतिहरू नेपाली साहित्यमा रुचि राख्नेहरूका लागि उपयोगी साबित हुने देखिन्छ । सबै कृति मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो ।