मोरङ । प्रदेश १ मा फेरि ३० जना कोरोनालाई जितेर अस्पतालबाट घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका ३ जनाले कोरोनालाई जितेका हुन् । उनीहरु बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो ।
विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा २ महिला, १ सञ्चारकर्मीसहित २७ रहेका छन् । उनीहरु वैशाख ५ देखि जेठ ९ गतेसम्म उपचारका लागि केन्द्रमा भर्ना भएका थिए । वैशाख ५ गते केन्द्रमा भर्ना भएका विराटनगर–१७ का ५७ वर्षीय कासिम मियाँलाई उदयपुरको भुल्केमा संक्रमण भएको थियो । निको भएर घर जानेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मियाँ रहनुभएको उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।
केन्द्रमा उपचाररत सप्तरीका रामदुल्ला मियाँ, रवनकुमार साह, उदयपुरका मोहम्मद सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहतर, रिङ्कु सहनी, धनकुटाकी शिला लिम्बू, गणेश बुढाथोकी, बादल गनगाईं, मोरङ रतुवामाईका मुमताज आलम, झापा कचनकबलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरङ पथरी शनिश्चरेका रमेश कार्की, खोटाङका दीपेन्द्र राई र संखुवासभाका निशा थापामगरले कोरोनालाई जितेका छन् ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशनअनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिनुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई श्ययाको उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा ल्याएको बताउँदै केही दिनभित्र मेची अस्पतालमा थप २ शैया केन्द्र स्थापना गर्ने बताउनुभयो । योसँगै प्रदेश १ मा कोरोनालाई जित्नेको संख्या ७८ पुगेको छ ।