काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्नाविरुद्ध सदनमा अभिव्यक्त भनाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमासमय मागेर बोल्दै उहाँले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभएको हो ।
उहाँले मन्तव्यमा प्रयोग गरिएको शब्दले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै त्योे मन्तव्य संसदीय रेकर्डबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले सो अभिव्यक्तिलाई आधारमानेर कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले नाम उल्लेख नगरिकन सांसद गिरीले ती सांसदले दिएको अभिव्यक्तिलार्ई ‘घृणाको मन्तव्य’ को संज्ञा दिनुभयो ।
‘जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिए । मेरो अनुपस्थितिमा संसदका एक माननीय जी ले जुन मन्तव्य दिनुभयो त्यसलाई घृणाका मन्तव्य भनिन्छ । अंग्रेजीमा यसलाई हेटस्पीच भनिन्छ । किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो’ उहाँले भन्नुभयो, ‘मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आर्कमण गर्न सक्थेँ साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्नुभयो । म त्यस्तो भाषा प्रयोग गर्दिन । म प्रेमपूर्ण ढंगल आफ्नो भनाई राख्छु । म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेटस्पीच कानुनी कारबाहीका लागि पर्याप्त हुन्छ । त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’ उहाँले चाँदीको चम्चा मा कसैले सभासद् पद नदिएको भन्दै सबैले आ आफ्नो पदीय मर्यादामा रहेर अरुसँग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताउनुभयो ।
सांसद अमृता देवी अग्रहरीले सांसद गिरीको पक्षमा मन्तव्य दिदै गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफि माग्नुपर्ने तर्क गर्नुभयो । ‘१९ गतेको बैठकमा माननीय गंगा चौथरीलेले प्रयोग गर्नुभएको शब्दप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ’ उहाँले भन्नुभयो, ‘म स्पष्ट रुपमा भन्नु चाहन्छु माननीय गगां चौधरीले माफी माग्नुपर्छ ।’
सदनमा सांसदको रुपमा उपस्थित भएका सबैले निश्चित प्रक्रिया पुरा गरेर आएको भन्दै उहाँले सबैको सम्मान गर्ने गरी मन्तव्य दिन पनि आग्रह गर्नुभयो । उहाँले हिन्दी भाषामा बोल्ने आफूहरुमाथि भेदभाव गरिदै आएको आरोप पनि लगाउनुभयो । सांसद अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादा विपरित नाम नै किटान गरेर अभिव्यक्ति दिईएको भन्दै आपत्ती जनाएका थिए ।
जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ति जनाउनुभएको हो ।
सांसद सद्गौवाले भन्नुभएको थियो ‘अनुदानसँग जमिन स्वमिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन । नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । न हेपिएको गाउँ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याक्छन् अनि रअ का एजेण्ट १५ दिनसम्म घाइते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पूर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् ।’