काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक–एकजनाको ज्यान गएको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा पुरुषोत्तम सेढाइले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशका १३ जिल्लामध्ये संघीय राजधानी समेत रहेको काठमाडौंमा सबैभन्दा धेरै २३ जनामा संक्रमण पुष्टि भएको छ । रामेछापमा १९, चितवन, काभ्रे र मकवानपुरमा ६–६, भक्तपुरमा ५, धादिङ र सिन्धुलीमा ४–४, ललितपुर र नुवाकोटमा ३–३, सिन्धुपाल्चोक र दोलखामा .२–२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार बाग्मती प्रदेशका विभिन्न स्थानमा ८ हजार ११६ वटा क्वारेन्टाइनको शैया रहेका छन् भने तीन हजार १०० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै करिब ५०० जना होम क्वारेन्टाइनमा छन् । प्रदेशमा रहेका १ हजार ६ वटा आइसोलेशन शैयाा हाल ४४ जनालाई राखिएको छ ।
प्रदेशमा १० हजार १०३ जनाको पिसिआर प्रविधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ । प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएका ८३ जनामध्ये प्रदेश सरकारले सञ्चालन गरेको ल्याबबाट १५ जना र सङ्घीय सरकारद्वारा सञ्चालित ल्याबबाट ६८ जना रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा भएको २६ हजार ७६३ जनाको आरडिटी परीक्षणमा ५२५ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।