भगीरथ भण्डारी इलाम । ७५ दिनदेखिको लकडाउनका कारण समस्या झेलेका इलामका चिया किसानले लकडाउनकै समयमा कारखानालाई चियाको हरियो पत्ति बाँकीमा बेचेका थिए । अहिले बाँकी लिएपनि लकडाउन केही खुकुलो हुन्छ र चिया बेच्न सहज भएपछि किसानको पैसा दिन सकिन्छ भनेर कारखानाले चियाको हरियो पत्ति बाँकी किने तर उद्योगीले अहिले तयारी चिया बेच्न सकेका छैनन् । उद्योगीले तयारी चिया बेच्न नसकेपछि किसान र उद्योगीमा समस्या भएको छ ।
हाल काँकरभिट्टा नाकामा भारतबाट गाडी आउने गरेपनि पानी ट्यांकीसम्म आएका गाडी नेपाल आएका छैनन् । लकडाउन शुरु भएसँगै चिया टिपाइको समस्या झेल्न बाध्य बनेका किसान लकडाउनकै समयमा दुःख गरेर थोर थोरै भएपनि बनाएको तयारी चिया नेपाली गाडी भारत छिर्न नपाएपछि तयारी चिया रोकिएको उद्योगी बताउँछन् । अहिले भारतले चिया निर्यातमा अवरोध गरेको कारण भन्सार नाकामा चिया रोकिएको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले जानकारी दिए । राईले भने, ‘अहिले तयारी चिया कुनैपनि कारणले नरोकिनुपर्ने हो तर नाकाबाट कुनैपनि हालतमा छिराउन दिइएको छैन ।'
नेपालमै बढी चिया उत्पादन हुने झापामा मात्र होइन इलाम, पाँचथर, धनकुटालगायत जिल्लामा उत्पादन भएको तयारी चियासमेत निर्यात अवरोधले रोकिएको छ । केही चिया जोगबानी नाकाबाट निर्यात हुने भएपनि ढुवानी खर्च र झन्झट पनि बढी हुने भएकाले यहाँका उद्योगीले जोगबनी नाका प्रयोग गर्न सकेका छैनन् । वर्षकै सबैभन्दा गुणस्तरीय मानिने पहिलो टिपाइ (फस्ट फ्लस) को चियासमेत टिप्न र प्रशोधन गर्न नपाएका किसान, उद्योगीले सिजनभन्दा महिना दिनपछि भएपनि बगानमा केही बचेको पत्ती टिपेका थिए । तर, त्यही उत्पादन पनि निर्यात हुन नसक्दा घाटा भइरहेको छ ।
इलाममा मात्रै करिब १० लाख किलो तयारी चिया स्टक रहेको उद्योगी बताउँछन् । इलाम चार र झापाका तीन चिया सरकारी बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले यो वर्ष तयारी चिया बेच्न नपाउँदा एक लाख किलोभन्दा बढी भण्डारण गर्नुपरेको जनाएको छ । समूह अध्यक्ष सुवास सांघाईले फस्ट फ्लस टिप्न नपाउँदा करिब तीन करोड रुपैयाँ घाटा बेहोर्नुपरेको बताए । ‘फस्ट फ्लसको घाटा त छँदैथियो, अहिले तयारी चियासमेत निर्यात नहुँदा झन् समस्या भएको छ,’ उनले भने, ‘समयमै बेच्न नपाए तयारी चिया पनि साविकको आधा दाममा मात्रै जान्छ ।’ केही उद्योगले गतवर्ष उत्पादन गरेको तयारी चियासमेत बिक्री गर्न बाँकी नै थियो । यो वर्ष बिक्री गर्नलाई राखिएको चियासमेत लकडाउनका कारण थन्किँदा दोहोरो घाटा हुने अवस्था आएको उद्योगी सरद सुब्बा बताउँछन् । यो बेलाको निर्यात अवरोधले गतवर्षकै ११ हजार किलो तयारी चियासमेत बेच्न नपाएको उनले जनाए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन् । बोर्डका अनुसार देशभर एक सय आठ ठूला चिया उद्योग र बगान छन् । चिया खेती गर्ने किसानको संख्याका आधारमा इलाम देशमै पहिलो हो । तर, झापामा सबैभन्दा बढी चिया उत्पादन हुन्छ । अध्ययन अनुसार इलाममा पाँच हजार पाँच सय ८२ साना किसान (देशकै ६०.६ प्रतिशत) छन् । झापामा ७० प्रतिशत र इलाममा ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै चियाबाट भइरहेको छ ।
नेपालमा १२ हजार ६६ हेक्टरमा चिया खेती लगाइएको छ । तथ्यांकअनुसार झापाको सात हजार एक सय ९५.१५ हेक्टरमा भइरहेको खेतीबाट ८२ हजार पाँच सय १७ मेट्रिक टन हरियोपत्ति वार्षिक रूपमा उत्पादन भइरहेको छ । इलाममा भने तीन हजार तीन सय ९३ हेक्टरमा भइरहेको चियाखेतीबाट वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको तथ्यांक छ । झापामा ६ करोड ३५ लाख चियाका बोटबाट हरियोपत्ती उत्पादन हुने गरेको छ भने इलाममा यो संख्या चार करोड ५८ लाख छ । नेपालमा चाहिँ कूल १२ हजार ६७ हेक्टरमा ११ करोड ६७ लाख ५१ हजार चियाका बोटबाट हरियो पत्ति उत्पादन हुने गरेको छ ।