काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्ण रुपमा असफल भएको निषकर्ष निकालेको हो ।
सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ । पर्याप्त स्वास्थ्य सामग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ ।
आइसोलेसन सेन्टर संगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ । केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ को नियन्त्रणका निम्ति पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
‘नेपाली कांग्रेस नेपालमा कोरोना नियन्त्रणको सन्दर्भमा अहिलेको सरकार पूर्ण रुपमा असफल भएको निष्कर्षमा पुगेको छ । सरकार असफल भएको छ भन्ने निर्णय आज हामीले गरेका छाैँ’ उहाँले भन्नुभयो, ‘यसका मूलकुराहरु समयमा स्वास्स्थ सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामग्रीमा व्यापाक रुपमा भ्रष्टाचार भएको कुरा उठ्नु, अहिले लाखौ लाख मानिस क्वारेन्टाइनमा छन् तर क्वारैन्टाइन अन्त्यन्तै अव्यवस्थित छन् । क्वारेन्टाइनमा कोरोना परीक्षण गर्न किटको अभाव छ । प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि गरिएको छैन । आइसोलेसन सेन्टर उचित ढंगले व्यवस्थापन गरिएका छैनन् ।
अस्पतालको क्षमता बढाईएको छैन । र विदेशबाट आउनेलाई सुरक्षित ढंगले इज्जत पुर्वक आफ्नो घर पुग्ने प्रबन्ध गरेको छैन । राहत पनि उचित र न्यायसंगत ढंगले वितरण गरिएको छैन । राहतमा पनि राजनीति गरिएको छ । अहिले जनताले देशमा सरकार भएको अनुभुति गर्न सकेका छैनन् । अथवा सरकारले जनताको जीउ धनको सुरक्षा गर्नका निम्ति अभिभावकको भूमिका निर्वाह गर्न सकेको छैन । यो सरकार असफल भएको छ ।
सरकार यस्तो विषम परिस्थितमा जनतासंग जोडिन सकेको छैन । भने नेपाली कांग्रेसले यो विषयलाई गम्भीरता पूर्वक लिएरको छ । हामी जनतासंग जोडिएका छौ । हम्रा पार्टीका नेता कार्यकर्ता विदेशमा रहेका जनसम्पर्क समितिहरुले आ आफ्नो ठाउँमा क्रियाशिलता पुर्वक गर्नुपर्ने काम गरिरहेका छन् । तर सरकार अहिले कोभिड १९ को नियन्त्रणका निम्ति पुर्ण रुपमा असफपल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेताको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ ।’
संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ ।
कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।