काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस महामारीका कारण घर नै विद्यालय बनेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले महामारीले परम्परागत शिक्षाको सिमिततालाई उजागर गर्दै शिक्षा क्षेत्रमा तीन विषयमा रुपान्तरण भएको र घर परिवारलाई नै लघु विद्यालय बनाउन प्रेरित गरेको बताउनुभएको छ ।
‘अहिलेको महामारीको सन्दर्भमा मूलतः शिक्षा पद्धतिमा ३ विषयमा रुपान्तरणको अवसर प्राप्त भएको छ । पहिलो विद्यार्थीमा स्वअध्ययन, मनन र बुझाईको प्रक्रियाबाट शिक्षा लिने बानीको अवसर प्राप्त भएको छ । त्यो सिकाईमा केन्द्रित हुँदा शिक्षक, विज्ञ, पुस्तक, इन्टरनेट, मिडिया आदिको प्रयोग गर्न पनि यसले सिकाएको छ’ उहाँले भन्नुभयो, ‘घर परिवारलाई नै लघु विद्यालय बनाउन प्रेरित गरेको छ । दोस्रो प्रतक्ष आमने सामने भएर शिक्षा आर्जन गर्ने प्रणालीको विकल्प र परिपुरकको रुपमा वैकल्पिक शिक्षा पद्धतिलाई स्वीकार गर्न बाध्य बनाएकाले अब खुला तथा दूरशिक्षा, वैकल्पिक शिक्षा अनौपचारिक शिक्षाको विकासमा तीब्रता ल्याउन हामीलाई प्रेरित गरेको छ । तेस्रो शिक्षाको प्रविधिमा आधारीत औद्योगिक क्रान्ति बिच आर्टिफिसियल इन्टेलिजेन्स युगमा सूचना तथा सञ्चार प्रविधिलाई अधिकतम अंगिकार नगरि नहुने पाठ सिकाएको छ ।’
उहाँले कोरोना भाइरसका कारण रोकिएको शिक्षा क्षेत्रमा बालबालिकाको सिकाई निरन्तरता सुनिश्चित गर्न मन्त्रालयबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरिएको बताउनुभयो । उहाँले रेडियो, टेलिभिजन, अनलाईन, छापा माध्यमको प्रयोग गरी स्वअध्ययनका माध्यमबाट सिकाइको निरन्तरता सुनिश्चित गर्ने गरी होम स्कुलिङको व्यवस्थाको लागि बजेट व्यवस्थापन भएको बताउनुभयो । उहाँले निर्देशिका आगामी असार १ गतेदेखि कार्यान्वयनमा आउने जानकारी गराउनुभयो ।
उहाँले चार वटा पद्धतिको आधारमा घरलाई नै विद्यालय बनाउने सोच अनुरुपमा निर्देशिका जारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले चारवटा पद्धतिको आधारमा यो घरघरमा बसिरहेकालाई घरलाई नै विद्यालय बनाउने सोच अनुरुप स्कुल र अभिभावकको संयोजनमा यो कामलाई अगाडि बढाउन खोजिएको छ ।’ उहाँले घरघरमा पुस्तक पठाउने, एफएम मार्फत पठन पाठन गराउने, टेलिभिजन र केबुलबाट पठनपाठन गराउने, र अनलाइन एजुकेशनबाट पठनपाठन गराउने व्यवस्था गरेको बाउनुभयो ।
महामारीका कारण अवरुद्ध भएको कक्षा १०, ११ र १२ तथा विश्व विद्यालयका परीक्षा र सिटीइभिटीका परीक्षाका सम्बन्धमा भएका अन्यौलतालाई सरकारले तत्काल स्पस्ट पार्नुभयो । उहाँले विद्यालय तथा विश्व विद्यायलमा पढाई निरन्तरता दिएपछि पनि उपयुक्त समयमा परीक्षा लिने व्यवस्था गरिने बताउनुभयो । उहाँले उपयुक्त समयमा परीक्षा लिने व्यवस्था गरिने र शैक्षिक सत्र क्षति हुन नदिने तर्फ गृहकार्य भइरहेको बताउनुभयो । शिक्षालाई कामको संसारसँग जोडदै पढाईसँगै काम भन्ने मान्यता अनुसार कार्यक्रम तय भइराखेको जानकारी दिनुभयो ।
उहाँले तोकिएको लक्षित वर्गका सबै बालबालिकालाई तोकिएको ढाँचा अनुसार पुग्ने गरी छात्रवृतिको व्यवस्था गरिएको बताउनुभयो । उहाँले व्यवस्थित रुपमा ठूला विद्यालय सञ्चालन गर्न मर्ज गर्ने कार्यक्रम ल्याइएको बताउनुभयो । ‘भौगोलिक अवस्था, जनसांख्कि अवस्था बनावट, भौतिक पूर्वाधार व्यवस्था लगायतका आधारमा विद्यालय तथा शिक्षण संस्था नक्साङ्कन गरी दुर्गम तथा विकट हिमाली क्षेत्रमा विद्यालय मर्ज गरी आवसीय सुविधासहितका विद्यालय सञ्चालन र घना वस्ती भएका सहरी क्षेत्र र तराईमा विद्यालय एकिकरण र समायोजन गरी व्यवस्थित ठूला विद्यालय सञ्चालनमा ल्याउन आवस्यक बजेट व्यवस्था गरिएको छ ।’
मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरणको दशकीय कार्यक्रम प्रस्तुत भइसकेको सन्दर्भमा गैह्र सरकारी क्षेत्र, विकास साझेदार, निजी क्षेत्र सबैको सहयोग लिन सक्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको सार्वजनिक शिक्षाको जिम्मा निजी विद्यालयलाई दिने अभिप्राय नरहकेो स्पस्ट पार्नुभयो । संघ र प्रदेश दुवैदे विश्व विद्यालय बनाउन सक्ने संवैधानिक व्यवस्था अनुसार केही नयाँ विश्व विद्यालय खोल्ने सम्बन्धमा प्रवुद्ध व्यक्तिसँग छलफल भइराखेको जानकारी समेत दिनुभयो ।