काठमाडौं । जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेड र निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल,प्याब्सनको सहकार्यमा जनता टेलिभिजनबाट प्याब्सन दूरशिक्षा कार्यक्रम संचालन हुने भएको छ । दूर दराज र ग्रामीण क्षेत्रसम्मका विद्यार्थीलाई लक्षित गरी असार १ गतेदेखि दूरशिक्षा कार्यक्रम हुन लागेको हो ।
जनता टेलिभिजन र प्याब्सनको संयुक्त सहकार्यमा प्याब्सन दूरशिक्षा कार्यक्रम संचालन हुने भएको छ । असार १ गतेदेखि दूरशिक्षा कार्यक्रम संचालन हुने भएको हो । संयुक्तरुपमा कार्यक्रम संचालन गर्ने सम्बन्धमा मंगलबार जनता टेलिभिजन र प्याब्सनबीच कार्यक्रम निर्माण र प्रसारणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा जनता टेलिभिजनका तर्फबाट नायव महाप्रबन्धक माधव कार्की र बजार व्यवस्थापक नरेश घिमिरेले हस्ताक्षर गर्नुभयो भने प्याब्सनका तर्फबाट उपाध्यक्ष एवं प्याब्सन दूरशिक्षा कार्यक्रमका संयोजक गोपाल आचार्य, उपमहासचिवद्वय किशोर गौतम र आरबी कटुवालले हस्ताक्षर गर्नुभएकाे छ ।
कार्यक्रम कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी संचालन हुनेछ । इन्टरनेटको सेवा नपुगेका दुर्गम स्थानका विद्यार्थी सम्मलाई लक्षित गरी दूरशिक्षा कार्यक्रम संचालन गर्न प्याब्सन लागि परेको हो । प्याब्सनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सबै विद्यार्थीलाई लक्षित गरी कार्यक्रम संचालन गर्न लागेको हो । दूरशिक्षा अन्तर्गत पाँच प्रमुख विषयको कक्षा संचालन हुनेछ ।
लकडाउनको अवधिमा गुणस्तरीय शिक्षाको अवधारणाअन्तर्गत कार्यक्रमलाई अगाडि बढाउन लागेको प्याब्सनले जनाएको छ । दैनिक बिहान १० बजेर ०५ मिनेटबाट सुरु हुने प्याब्सन दूरशिक्षा कार्यक्रम मध्यान्ह १२ बजेर ५५ मिनेटसम्म संचालन हुनेछ । सम्झौता अनुसार असार महिनाभर दैनिकरुपमा कार्यक्रम संचालन हुनेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेडका अध्यक्ष डा विजयकुमार पौडेल, प्रमुख कार्यकारी अधिकृत डा रमेश पौडेल, कार्यकारी निर्देशक नारायण सुवेदी, कम्पनी सचिव विष्णु भट्टराई लगायतले टेलिभिजनमार्फत सुगम र दुर्गम क्षेत्रका विद्यार्थीलाई सेवा पुर्याई शिक्षाको माध्यमबाट देश जोड्न पाएको धारणा व्यक्त गर्नुभएको थियो ।