सनिउल्ला धोबीकपिलवस्तु । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यवसायी मर्कामा पर्दै गएका छन । त्यसमध्ये पनि फलफुल व्यवसायीको समस्या थप जटिल बन्दै गएको छ । लकडाउन लम्बिएसँगै फलफुल व्यवसाय गर्दै आएका व्यवसायी व्यापार नहुँदा निकै चिन्तित बनिरहेका छन ।
कपिलवस्तुको शिवराज नगरपालिकाकाे चन्द्रौटामा शाह कृषि फर्म सञ्चालन गर्दै आएका रहिश शाहले लकडाउनका कारण फलफुल व्यवसाय चौपट भएको बताए । शाहले भन्छन, 'अहिले जिल्लामा करिब १२ वटा बगैंचाको आँप पाक्ने अवस्थामा छ तर बेच्न कहाँ लैजाने ? तीमध्ये २०० गाडी आँप बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ तर लकडाउनका कारण बिक्री नहुँदा साह्रै समस्या भएको छ ।’
पछिल्लो समय बगैंचा रेखदेख तथा कामदारलाई पैसा दिन मुस्किल हुन थालेको शाहको भनाइ छ । जिल्ला प्रशासन र नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने बताए पनि अहिलेसम्म केही नगरेको शाहले गुनासो गरे। युवा व्यवसायी शाहले विगत दुई दशकदेखि शुरु गरेको फलफुल व्यवसायमा अहिले करिब साढे १० करोड लगानी पुगेको छ । शाहका बुवा जयस मोहम्मद शाह र दाइ रफिक शाहसमेत 'एमआर फ्रुट सेन्टर' को नाममा फलफुल व्यवसाय सञ्चालन गरिरहेका छन् । केही वर्षको विदेश बसाइलाई बिट मार्दै स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले चन्द्रौटामा आफ्नै घरमा 'एमआर फ्रुट फलफुल पसल' का नाममा व्यवसाय सञ्चालन गर्दै आएका छन ।
फलफुल व्यवसायमा राम्रो आम्दानी हुँदै आए पनि लकडाउनका कारण व्यवसायमा उदाहरणिय बनेका व्यवसायी यतिबेला भने चिन्तित छन । शाहको बगैंचामा अहिले कपुरी, मल्दहा, दशहरी, बम्बाई जातका गरी करिब ४ हजार आँपका बोट छन । आँप बगैंचा लिजमा लिएको र बैंक ऋणको किस्ता तिर्नसमेत कठिनाई भइरहेको उनले बताए ।
शाह त एक उदाहरण मात्रै हुन । जिल्लामा यस्ता अन्य व्यवसायी समेत लकडाउनका कारण व्यवसाय धान्न नसक्ने अवस्थामा छन । फलफुल तथा आँपलाई आफ्नो मुख्य व्यवसाय बनाउँदै आएका किसान यतिबेला समस्यामा परेका हुन । गाउँका ठेला व्यवसायीलाई आँप तथा अन्य फलफुल बेच्न दिनुपर्ने आँप व्यवसायी प्रशासनसँग सामुहिक माग गर्दै आएका छन ।