राजन पौडेलपर्वत । विश्वव्यापी कोरोना महामारी र लामो लकडाउनका कारण धेरै युवा शहर वा विदेशबाट गाउँ फर्केका छन । वैैदेशिक रोजगारीमा रहेकादेखि स्वदेशमै पनि धेरैले रोजगारी गुमाइरहेको अवस्था छ । यसरी लकडाउनका कारण कयौंले रोजगारी गुमाएको र विदेशबाट फर्केका युवा समेत बेरोगार बनिरहेकाे बेला पर्वतका खड्गबहादुर गुरुङले भने आफ्नै घरको छतमा अंगुर फलाएर लाखौं आम्दानी गरिरहनु भएकाे छ ।
धन कमाउनका लागि विदेश जानैपर्ने, प्रशस्त जमिन हुनैपर्ने र धेरै मेहनत गर्नेपर्ने नेपाली समाजको मनोविज्ञानका बीच खड्गबहादुरले घरको छतमा अंगुर व्यवसाय गरेर न्यून लगानीमा पनि नाफा कमाउन सकिने उदाहरण पेस गरिरहेका छन । असाध्यै कम मेहेनतबाट पनि वार्षिक लाखौं रुपैयाँ कमाउन कठिन नहुने ५३ वर्षीय खड्गबहादुरले व्यवहारमै पुष्टी गर्नुभएकाे छ ।
जिल्लाको कुस्मा नगरपालिका वडानम्बर ३ दुर्लुङ्गका अवकास प्राप्त नेपाली सैनिक गुरुङले कुस्माबजारस्थित घरको छतमा फलाएको अंगुरबाट वर्षमा लाख भन्दा बढी कमाइरहेका छन । गुरुङले युरोपियन जातको सिडलेस (बियाँरहित) अंगुर छतमा फलाउनुभएकाे हाे ।खड्गबहादुर ५ वर्ष अघि रोपेको अंगुरको बोटमा ३ वर्ष अघिदेखि नै उत्पादन शुरू भएकाे बताउनुहुन्छ।
गत वर्ष ७० हजार बराबरको अंगुर मात्रै बिक्री गर्नुभएका गुरुङले यो वर्ष १ लाख रुपैयाँको अंगुर बिक्री गर्ने लक्ष्य राख्नुभएकाे छ । भन्छन्, ‘गत वर्ष ७० हजारको अंगुर मात्रै बेचेको थिएँ, यस वर्ष १ लाखको बिक्री गर्ने लक्ष्य छ तर असिनाले पनि केही क्षति पु-याएको छ ।’ बजारमा विदेशबाट ल्याएको र विषादी राखेर कुहिनबाट जोगाइएको अंगुरको तुलनामा छतमा फलेको अंगुर स्वादिलो र स्वस्थकर हुने खड्गबहादुरको भनाइ छ । अलि/अलि गुलियो हुन थालेपछि नै घरमा आएर किन्नेको लर्को लाग्छ, उहाँले भन्नुभयो, ‘पाक्न थालेपछि पु-याउनै मुस्किल हुने र स्वादिलो हुने भएकाले घरबाटै बढी बिक्री हुन्छ, बजार खोज्न जानु पर्दैन ।’
खड्गबहादुरले छतमा फलेको अंगुर मात्रै बेचिरहनुभएकाे छैन, बिरुवा खोज्नेहरु समेत बढीरहेकाले यसले उहाँको आम्दानी थप वृद्धी भइरहेको देखिन्छ । गत वर्ष ४० हजार भन्दा बढी मूल्यका बिरुवा बेचेको खड्गबहादुरले बताउनुभयाे । यो पटक पनि ३ सय बिरुवा बिक्री भइसकेकाे बताउनु हुने गुरुङले एक अंगुरको बिरुवाको ३ सय रुपैयाँ लिने गर्नुभएकाे छ । अंगुरको बिरुवा बेचेर मात्रै ९० हजार आम्दानी गरिसकेको उहाँको भनाइ छ । घर तथा होटलदेखि बारीमा लगाउन अंगुरका बिरुवा किन्न आउनेहरू बढीरहेकाे उहाँले बताउनुभयो । हिउँदको समयमा बिरुवा तयार गरेर वर्षा याममा बिक्री गर्ने खड्गबहादुर गुरुङ जेठदेखि असार महिनाभित्र अंगुरको बिरुवा रोप्न मिल्ने बताउनुहुन्छ ।
सुन्तला र माहुरीपालनबाट पनि उस्तै आम्दानीखड्गबहादुरले सुन्तला र माहुरीपालनबाट पनि राम्रो आम्दानी गरिरहनुभएकाे छ । नेपाली सेनाबाट अवकास पाएपछि उहाँले दुर्लुङ्गको चनौटेमा भुपु सैनिकहरुको सहकारी स्थापना गरेर व्यवसायिक खेती शुरु गर्नुभएको थियो । अहिले २ सय सुन्तलाका बोट र ३० घार माहुरी पाल्नु भएको छ । ‘मेहनत गर्न सके कृषिबाट पनि राम्रो गर्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘हामी कहाँ देखासेखी गरेर खेती नगर्ने तर अरुले गरेको देखेर रिस गर्ने प्रवृृत्ति हावी भएका कारण देशले कृषि क्षेत्रबाट सोचे अनुसार आम्दानी गर्न नसकेको हो ।’
फलफुलमध्ये अत्यन्तै रुचाइने अंगुर नेपालमा विदेशबाट वर्षेनी करोडौं रुपैयाँको आयात हुन्छ । तर हिमाली र पहाडी जिल्लामा व्यवसायिक रुपमा अंगुर खेती गर्न सकिन्छ । युरोपियन मुलुकमा लगाइने यो जातको अंगुरलाई समशितोष्ण हावापानी भएका ठाउँमा व्यवसायिक रुपमा गर्न सकिने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी बताउनुहुन्छ । बढी गर्मी नहुने हिमाली र पहाडी क्षेत्रमा अंगुर खेती गर्न सकेमा कृषकले थोरै मेहेनतबाट पनि धेरै आम्दानी गर्न सकिने रेग्मीको भनाइ छ ।
युरोपियन सिडलेस जातको अंगुरमा बियाँ नहुने भएकाले खान पनि स्वादिलो हुन्छ । ‘बिरुवा रोपेको दुई वर्षमा नै उत्पादन दिन शुरु गर्छ । तेस्रो वर्षदेखि व्यवसायिक रुपमा नै बिक्री गर्न सकिन्छ’ रेग्मीले भन्नुभयो । बजारको पनि समस्या नहुने भएकाले ठुलो क्षेत्रमा बाँझो जमिनलाई उपयोग गरेर कृषकले अंगुर खेती गर्न सक्ने रेग्मीले बताउनुभयाे ।