बागलुङ । बडिगाड गाउँपालिका वडानम्बर ६ का वीर बहादुर खत्री आफ्नो बारीमा फलेको काक्रोको भारी बोकेर बुर्तिबाङ बजार जान्छन । तर बेच्नका लागि बुर्तिबाङ पुर्याइसकिएको एक गाडी काक्रो बेच्नमा तगारो बनिदिन्छ, लकडाउनको कार्यान्वयनमा जुटेको नेपाल प्रहरी । रोइकराइ गर्दागर्दै बल्लतल्ल बजार पुर्याएको काक्रो लकडाउनका कारण भन्दै बजारबाट घर फर्काइदिन्छ प्रहरी ।
‘एकातिर बाटोमा प्रहरीले लखेट्ला कि भन्ने डर त अर्कोतिर कोरोना सर्ने हो कि भन्ने चिन्ता हुँदासमेत डरैडरले काक्रो लिएर बुर्तिबाङ पुगेँ तर बजार पुग्नासाथ बजार बन्द छ भनेर प्रहरीले काक्रो बोकेको गाडी नै फिर्ता गरिदियो’ वीर बहादुरले भने । गाडी पनि खासै नचलेको र दैनिक एक क्विन्टल उत्पादन हुने काक्रोले बजार नपाउँदा जोखिम नै मोलेर बुर्तिबाङ बजार पुगेकाे वीर बहादुर बताउँछन । भन्छन्, ‘काक्रो लिएर बजार गए पनि बिक्री नभएपछि गाडीको भाडा दिनेसमेत पैसा भएन ।’
‘फर्काएको काक्रो तीन दिनपछि हेर्दा त पहेँलपुर बन्यो । आलु भएको भएपनि भकारी हालेर राख्न सकिन्थ्यो । पानीको जात, थुपारी राख्न पनि मिलेन, फाल्दियौं’ वीर बहादुरले भने, ‘अघिल्लो वर्ष १०० क्विन्टल काक्रो बेचेको थिएँ, यो पटक सखापै भयो ।’
काक्रोजस्तै विभिन्न तरकारी बिक्री वितरणबाट वर्षेनी ५ लाखसम्म आम्दानी गर्ने गरेका खत्री अहिले १० हजारमा झरेका छन् । ‘वर्षेनी तरकारी बेचेर ५ लाखसम्मको आम्दानी हुन्थ्यो, लकडाउनले बजार पाउन छोडेपछि घरमा आएर किन्नेहरू बाहेक तरकारीको बिक्री हुनै छाड्यो’ उनले भने ।
केही समय अघि सिंगापुर जाने सपना बोक्दा करिब ८ लाख दलालले खाइदिएपछि विदेशको सपना देख्न छोडेका वीर बहादुर खत्री कृषि कर्ममा निकै सक्रिय रहेपनि आफ्नो उत्पादनले बजार नपाउँदा मर्कामा परेका हुन । २०५५ सालदेखि कृषि कर्ममा क्रियाशील खत्रीलाई यो वर्ष आफ्नो बारीमा फलेको तरकारीले बजार नपाउँदा अत्यन्तै पीडा महशुस भइरहेको छ ।
कृषि व्यवसायबाटै ८ जनाको परिवार धान्दै आएका खत्री लकडाउनका कारण व्यापार ठप्प बनेपछि परिवारको लालनपालन र छोराछोरीको पढाइ खर्चमा समेत बाधा पुग्ने हो कि भनेर चिन्तित देखिन्छन । अहिले उनको कृषि फर्ममा कुखुरा, मौरी र बाख्रापालनका साथै प्याज, बन्दा, सीमी र काक्रोलगायतका तरकारी लटरम्म फलेका छन ।
लकडाउनको समयमा कृषकको उत्पादन यसरी खेर गइरहेको अवस्थामा सरकारी निकायले बिक्रीको बन्दोबस्त मिलाइदनु पर्ने हो । तर दिनानुदिन बारीको उत्पादन कुहिन लागेर चरम पीडा भोगिरहेका कृषकको घाउमा मल्हम लगाउन सरकारका कुनै संरचना पहल गरिरहेका छैनन । किसानको उत्पादनको मूल्य तोक्ने र बिक्री नभए राज्यले जिम्मा लिने भनिए पनि व्यवहारमा त्यस्तो देखिदैन । त्यसैले खत्रीजस्तै मर्कामा परिरहेका कयौं किसानतर्फ सरकारले बेलैमा नजर लगाउने हो कि ?