जाजरकोट । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा भइरहेकाे लकडाउनकाे कारण समस्या हरूकाे समाधान गर्न जुनिचाँदे गाउँपालिकाले विकासयुक्त जुक्ति निकालेकाे छ । गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ ।
समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो । गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म स्थानीयवासीले काम गर्ने गरी छनोट भएका योजनामा काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । काम गरेवापत दैनिक गाउँपालिकाले ५ सय रुपैयाँ दिने गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ बडकुलेमा तैयाबाट एक्लेसल्लाहसम्मको घोडेटो बाटो निर्माण जारी छ । त्यो बाटोमा २ लाख लाख ४३ हजार विनियोजन भइ ६८ जनाले काम गरिरहेका छन् । वडा नम्बर १ मै चाँखाबाट चिसापानीसम्मको घोडेटो बाटो निर्माणका लागि ्१ लाख ९६ हजार रुपैयाँ मा ५५ जनाले रोजगारी पाएका छन् । बिराखोलाबाट भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि २ लाख १४ हजार ५ सय रुपैयाँमा ६० युवाले रोजगारी पाएका छन् ।
वडा नम्बर २ को आलिचौर ओडारबाट जर्पासम्मको घोडेटो बाटो निर्माणमा २ लाख ७५ हजार रुपैयाँमा ५८ जनाले काम गरिरहेका छन् । वडा नम्बर २ कै जन्तरेबाट मौगानसम्म घोडेटो बाटो बनाउन १ लाख ५० हजार रुपैयँँ रकम विनियोजन भइ ४२ युवायुवती काममा खटिएका छन् । वडा नम्बर २ कै भैरव माविबाट फावरवयाँसम्मको १ लाख ४६ हजार ५ सय रुपैयाँमा घोडेटो बाटो बनाउन ४१ जनाले रोजगारी पाएका छन् ।
त्यस्तै वडा नम्बर ४ को जापाबाट गुमाउरो बाटोसम्म घोडेटो बाटो निर्माण जारी छ । त्यो बाटोमा १ लाख ७२ मा दिने गरी ४८ जनालाई परिचालन गरिएको छ । जुनिचाँदे–४ मा मालिका प्रावि फिल्ड बनाउन १ लाख ५० हजार विनियोजन गरी ४२ जनाले काम गरिरहेका छन् ।
खुदबाट खालटाकुरासम्मको घोडेटो बाटो निर्माण गर्न ४३ युवायुवती परिचालित छन् । त्यो बाटोका लागि १ लाख ५३ हजार विनियोजन गरिएको छ । जुनिचाँदे–५ स्थित जिउलाबाट बाइपाटासम्म घाडेटो बाटो बनाउन ५ लाख ६५ हजार विनियोजन भइ १ सय ५८ जनाले रोगगारी पाएका छन् । वडा नम्बर ५ कै हाँकुबाट गर्खाकोटसम्मको घोडेटो बाटो बनाउन ४ लाख १८ हजार रुपैयाँ विनियोजन भइ १ सय १७ जनाले रोजगारी पाएका छन् । मानिमाला–रियाना–नारे–मौका इप्रका घोडेटो बाटो जुनिचाँदे–५ मा निर्माण गर्न ८६ युवा परिचालन गरिएको छ । त्यसको लागि ३ लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ ।वडा ननम्बर ६ को कसारेखोलाबाट तुम्ला सिगारसम्म घोडेटो बाटो निर्माण गर्न २ लाख ७९ हजार रुपैयाँ मा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ६ को चौताराबाट फेदीसम्मको घोडेटो बाटो बनाउन २ लाख ३० हजारमा ५६ स्थानीयवासीले रोजगारी पाएको गाउँपालिकाका निमित्त अध्यक्ष शिवा आचार्य (बस्नेत)ले बताउनुभयो । गाउँका बेरोजगारलाई रोजगारी दिन यो कार्य गरिएको उहाँले बताउनुभयो । क्वारेन्टिनमा बसेर घर फर्केका, विदेशबाट कामविहीन भएर घर फर्केकालाई यस्ता काममा सहभागी गराएको आचार्यले बताउनुभयो ।