नवीन लोचनमगररोल्पा । पछिल्लो पटक १७ जना थपिएपछि रोल्पामा जम्मा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । शनिबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १७ जनालाई कोराना देखिएको हो । जिल्लाको सुनिल स्मृति गाउँपालिकामा १७ जना र रोल्पा नगरपालिकाको वडानम्बर १ र ४ का ५ जनालाई कोरोना संक्रमण भएको भेरी अञ्चल अस्पतालले जनाएको छ ।
रोल्पा नगरपालिकाको वडा नम्बर १ र ४ का ४१ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १८ वर्षीय २ जना र २१, २२ र २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । नगरपालिकाको बामरुक, धारापानी र तित्रिकोट क्वारेन्टाइनमा बसिरहेका र केही दिन अघि भारतको मुम्बइबाट फर्किएकाहरुमा संक्रमण देखिएको हो । नगर प्रमुख पुर्ण केसीका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
उता नगरपालिकाकै कोटगाउँ क्वारेन्टाइनमा बसिरहेका १८ जनाको पनि स्वाब पठाइएकाेमा सुनिल स्मृति गाउँपालिकाकै खुंग्रीका २१ वर्षीया एक महिलासहित ४०, १८, ३५, २९, २७, ४७, २०, १८, ४०, २४ र २१ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । सुनिल स्मृतिमा मात्रै हालसम्म संक्रमितको संख्या २९ पुगेको छ । संक्रमित सबै भारतबाट स्वदेश फर्किएका हुन् ।
यस अघि कोरोना संक्रमण भएकालाई सदरमुकाम लिवाङमा रहेको जलजला बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको छ भने अन्यलाई पनि आइसोलेसनमा ल्याउने तयारी भइरहेको रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले जानकारी दिनुभयो ।