रूपक कुलाल/विकास पराजुलीरुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहवामा गंगादेवी पशु फर्म छ । कृष्णबहादुर पुनले २ वर्ष अघिमात्र फर्म सञ्चालनमा ल्याएका थिए । यस अघि कुखुरापालन हुने गरेको फर्ममा २ वर्ष अघि देखि भैंसी र गाईपालन भइरहेको छ । फर्म सञ्चालक कृष्णबहादुर सदाझैँ जेठ २६ गते सोमबार राति १० बजेसम्म फर्ममा काम सकेर सुत्न गए । अन्य कामदार पनि सुते ।
नियमित समय पारेर भोलिपल्ट बिहानै कृष्णबहादुर फर्ममा आए । बाहिरबाट गेट खोल्न आग्रह गरे । केही बेरपछि भित्रै रहेका अर्जुन मुसहर गेटमा आए । फर्म सञ्चालकले अर्जुनलाई बुवा, आमालाई उठाएर गेट खोल्न भने । अर्जुन गएर बुवा आमालाई बोलाए । नबोलेपछि कृष्णसँग आएर अर्जुनले भने, कोही पनि बोल्दैनन् । पुनः कृष्णले भित्र रहेका पोखराजलाई बोलाउन भने । अर्जुन उनीहरु सुतेको ठाउँ नजिकै पुगे । पुनः त्यसैगरी बोलाए । कोही बोलेनन् । उनीहरु सुतिरहेको ठाउँमा अर्जुन पुगेर ब्ल्याङकेट खोलेर हेरे । रगताम्य देखियो । अर्जुन आतिंदै हतार हतार गेटमा आएर ब्ल्याङ्केटभित्र रगताम्य देखिएको कृष्णलाई सुनाए । त्यसपछि कृष्ण गेट माथिबाटै हाम फालेर फर्ममा प्रवेश गरे । उनीहरु सुतेको ठाउँमा पुग्दा लामबद्ध अवस्थामा ५ जनालाई रक्ताम्य देखे । त्यसपछि कृष्णको होस उड्यो । उनले गाउँलेलाई बोलाए । प्रहरीलाई खबर गरे ।
जेठ २७ गते मंगलबार बिहान प्रहरी घटनास्थलमा पुग्दा ५ कामदार रताम्य अवस्थामा थिए । उनीहरुलाई कसैले हत्या गरेको जस्तो देखिन्थ्यो । रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासी स्थायी घर भएर ७ वर्षदेखि तिलोत्तमा नगरपालिका–१० मा बस्दै आएका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोखराज मुसहर, १७ वर्षका करण चौधरी र आशिष चौधरीको विभत्स हत्या भएको खुल्यो ।
मृतक करण र आशिस पोखराजका साथी हुन् । उनीहरु त्यस दिन मोबाईलमा गेम खेल्न फर्ममा व्यस्त भएको बताइएको छ । जानकी र माधव श्रीमान श्रीमती हुन । उनीहरु फर्ममै काम गर्थे । माधव र उनकी श्रीमती जानकीले डेढ बर्ष देखि फर्ममा काम गर्दै आएका थिए । अर्जुन मृतक जानकी र माधवका कान्छा छोरा हुन् । कृष्णले बिहानै फर्ममा पुग्दा उनैलाई बोलाउन पठाइएको थियो । अर्जुनका दाजु करण तिलोत्तमाकै अर्को फर्ममा काम गर्थे । जानकी र माधव त्यही नजिकै रहेको टिनको टहरोमा बस्ने गर्दथे । फर्मकै कम्पाउण्डमा टहरो थियो ।
यसरी पशुपालनमा संलग्न माधव उनकी श्रीमती जानकी, अरु कामदारहरु पोखराज, करण र आशिषको हत्या भयो । माधवकी साली र उनका कान्छा छोरा अर्जुन भने फर्मको अर्काे टहरोमा बसेकाले बाँच्न सफल भए । फर्ममा अर्का कामदार झसेन्द्र सिँजाली पनि थिए । बैशाख १८ गते देखि फर्ममा काम शुरु गरेका झसेन्द्र भने उक्त दिन घटनास्थलमै थिए ।
https://www.youtube.com/watch?v=N0v6Ahg3EOE&list=PLT8LMrml4tPFAchkHk-SsM-nDFlwLBV34
माधव र जानकी दुई वर्ष अघिदेखि फर्ममा काम गर्दै आएका थिए । फर्ममा १६ वटा भैँसी, ४ वटा गाई र १६ वटा पाडापाडी छन् । त्यस्तै बाख्रा, हाँस र कुखुरा समेत थपिएका कारण सञ्चालक कृष्णले कामदार थप्दै गएका थिए । समयक्रमसँगै झसेन्द्र सिँजाली फर्ममा काम गर्ने कामदारकारुपमा थपिए ।
फर्ममा काम गर्न थालेपछि झसेन्द्र सिँजाली गोठमा सुत्थे । माधव र जानकीदेवी गेट नजिकै रहेको टहरामा सुत्थे । सोमबार भने जानकीकी बहिनी गोलरी मुसहर आएकी थिइन् । बहिनी र कान्छो छोरा अर्जुनलाई टहरामा सुत्न लगाएर उनीहरु पनि गोठमै सुत्न गएका थिए । घटनापश्चात् गोलरीले राती १ बजेतिर झसेन्द्र आफूहरु सुतेको ठाउँमा गएको बताइन् ।
यता हत्या गरिएका आशिष चौधरी पछिल्लो तिन/चार दिनदेखि पोखराजसँग फर्ममा बस्दै आएका थिए । पोखराज, करण र आशिष मिल्ने साथी हुन् । करण र आशिष फुर्सद भयो की पोखराजलाई भेट्न गइरहन्थे । आशिषसँगै हत्या गरिएका करण चौधरी पनि सोमबार आफ्नै घरमा खाना खाएर गोठमा गएका थिए । प्रहरीले घटनाको अनुसन्धान शुरु गर्यो । प्रहरीले फर्ममा सँगै काम गर्ने झसेन्द्रलाइ नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो । प्रहरी अनुसन्धानका क्रममा झसेन्द्रले ५ जनाको हत्या गरेको खुल्न आयो ।
प्रहरीका अनुसार उक्त दिन साँझसँगै मदिरा सेवन गरी बसेका उनीहरु मध्ये जानकी साढे १० बजेपछि टहरोबाट गोठतर्फ गएको बेला सिँजालीले ४ जनालाई हत्या गरिसकेको खुल्न आएको छ । कोठाबाट गोठमा सुत्न गएकी जानकीले हत्या भएको देखेपछि गुहार माग्न खोज्दा उनलाई पछाडिबाट लाठीले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । घटना पश्चात पनि सिँजाली भने गोठमै रहेका थिए ।
मदिरा सेवन गरेका सिँजालीले आवेगमा आएर ४ जना पुरुषलाई फरुवा र लाठी प्रहार गरी हत्या गरेको र प्रतिकार गर्न खोज्ने जानकीलाई पछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको प्रकृती हेर्दा शुरुमा लाठी प्रहार गरी अर्धचेत बनाएपछि फरुवाले हानेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
सिँजालीले पाँच जनाको हत्या गरेको स्वीकार त गरे तर किन उनले ५ जनाकै नरसम्हार गरे त्यो भने प्रहरी अनुसन्धानकै क्रममा छ ।
https://www.youtube.com/watch?v=N0v6Ahg3EOE&list=PLT8LMrml4tPFAchkHk-SsM-nDFlwLBV34
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहवामा ५ जनाको सामूहिक हत्या भयो । हत्या पनि फर्ममा सँगै काम गर्ने झसेन्द्र सिँजालीले गरेको प्रहरी अनुसन्धानबाट खुल्न आयो । तर उनले किन गरे उनीहरुको हत्या भन्ने विषय सबैको चासोको विषय बनेको छ । प्रहरी अनुसन्धानबाट खुल्न आए अनुसार पाँचै जनाको विभत्स हत्या भएको घटनास्थलबाट पक्राउ परेको झसेन्द्र दुर्गादेवी पशु फर्ममा गत बैशाख १८ गतेदेखि काम गर्न थालेका थिए । श्रीमतीले छाडेपछि झसेन्द्र काम खोज्दै मैनहवा पुगे र गंगादेवी पशुपंक्षी फर्ममा काम थाले ।
सिँजालीलाई काम चाहिएको र कृष्णबहादुरलाई कामदार चाहिएको । दुवैजनाको कुरा मिल्यो । उनी बैशाख १८ गतेदेखि फर्ममा काम गर्न थाले । काम खोज्दै फर्ममा आउँदा झसेन्द्रले आफूलाई श्रीमतीले छोडेर गएको बताएका थिए । झसेन्द्र गोठमा काम गर्न थालेदेखि नै माधव र जानकीसँग भने झगडा गरिरहने जानकीका जेठो छोरा करण मुसहरले बताए । प्रहरी अनुसन्धानबाट पनि व्यक्तिगत रिसिबीका कारण नै हत्या गरेको प्रहरी सामु स्वीकार गरेको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले बताए ।
मृतक जानकी मुसहर र माधव मुसहरले सिँजालीलाई व्यक्तिगत चरित्र हत्या गर्ने काम गरेको र त्यही रिसिवीका कारण सोमबार राति ५ जनालाई हत्या गरेको बताइएको छ । फर्ममा रहेका भैँसी चराउन जाँदा सिँजालीले भैसीलाई करणी गरेको मृतक माधव र जानकीले देखेको र फर्म सञ्चालकलाई भनिदिने भन्दै चरित्र हत्या गर्ने गरेको सिँजालीले बयानमा भनेमा छन् । चरित्र हत्या गरेर गाउँभरी समेत चर्चा हुँदा आफू विक्षिप्त भएको र मानसिक रुपमा पनि चोट पुगेकाले मौका हेरेर सबैको हत्या गरेको बयानलाई उदृत गर्दै बैदवारले बताए । ५ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रदेश प्रहरी कार्यालयको टोलीले घटनाको विस्तृप्त अनुसन्धान गरिहेको छ ।
माधवको घर रुपन्देहीको सैनामैना भएपनि उनी कान्छीबजारमा बस्दै आएका थिए । उनका जेठो छोरा करण १८ वर्ष पुगेका छन् भने कान्छो छोरा अर्जुन १० वर्षका भए । करणले तीनचार महिनादेखि दर्खासीमा रहेको एक अर्काे पशुफर्ममा काम गर्न गर्छन् । दिनभरी फर्ममै काम गर्ने, फर्ममै गाईवस्तुको स्याहार सुसारमा व्यस्त हुने भएपछि उनले बुवाआमालाई भेट्न आउन पाउँदैनथे । भाइ अर्जुनसँग भने दिनदिनै भेट भइरहन्थ्यो । सोमबार राति आमा बुवाको हत्या हुँदा उनकै भाइ अर्जुनले करण सामु खबर पुर्याएका थिए ।
मंगलबार अचानक बिहानै भाइ दौडिदै गएर अंकलले बुवाआमालाई मारिदिनुभयो भनेपछि करण मुसहर घटनास्थलमा आएका थिए । करणका अनुसार किन हो खै सिँजालीले यसअघिनै माधवलाई कुनै दिन मारिदिन्छु भन्दै धम्काउँथे । रिस त केही पनि थिएन तर किन हो खै रिसमा मारिदिन्छु भन्थे । अंकलले आफूहरुलाई टुहुरो बनाएको भन्दै माधवका दुई छोरा यतिखेर बिछिप्त छन् । तिलोत्तमामा ५ जनाको सामूहिक हत्यापछि दुई बालक टुहुरो भएका छन् भने तिलोत्वमा सिङ्गो बस्ती यतिखेर त्रासमा छ ।
https://www.youtube.com/watch?v=N0v6Ahg3EOE&list=PLT8LMrml4tPFAchkHk-SsM-nDFlwLBV34