काठमाडौं । राष्ट्रियसभाको शुन्य समयमा बोल्ने सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा सांसदहरुले क्वारेन्टाइन व्यवस्थापनदेखि विदेशमा अलपत्र परेकाहरुको उद्वारमा ध्यानाकर्षण गराएका छन् ।
सांसद राम नारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवा महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले रोजगारी नदिएर धकेली धकेली युवालाई विदेश पठाएपनि रोग र भोकले ग्रस्ता भएकोले उद्दार गर्न नसकेको उहाँले बताउनुभयो ।
‘राम्रा राम्रा र बलिया बलिया युवा रोजगारीका लागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन्’ उहाँले भन्नुभयो, ‘ स्वदेश आउन आतुर छन् तर रकम छैन् अभाव छ । भाडा तिर्ने पैसा छैन् शरीरपनि जिर्ण भएको छ । नेपालमा काम नदिएको कारणले धकेली धकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन् । तिनीहरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी ।’ उहाँले दुव्र्यसन र लागु औषधले लिप्त भएर बसिरहेका युवालाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्ने तर्फ गृहमन्त्रालयको ध्यान जानुपर्ने बताउनुभयो ।
सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । ६ महिना अगाडि दुर्घटनामा श्रीमान गुमाएकी ती महिलालाई पहिलेदेखि नै घरका सदस्य मानसिक तनाव दिँदै आएकाहरु बाहिर आइरहेको उल्लेख गर्दै उहाँले दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । सांसद शारदादेवी भट्टले कैलाली घटनाका दोषीलाई कडा कारवाही गर्न माग गर्नुभयो । महिलाहरु क्वारेन्टाइनमा असुरक्षित रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टाइनमा राख्न उहाँले आग्रह गर्नुभयो ।
सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीयतामा देश भएको भएपनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन अवस्था दुःख लाग्दो भएको बताउनुभयो । उहाँले कोभिड—१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गर्नुभयो । सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिक आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी क्वारेन्टाइनमा रहेको बताउनुभयो । हजारौँको संख्यामा क्वारेन्टाइनमा रहेकाको परीक्षण हुन नसकेको आरडिटी पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षण ढिलाइ भएको उहाँले बताउनुभयो ।
सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदन भण्डारी राखेकोप्रति आपत्ति जनाउनुभयो । स्थानीयको विरोधकाबीच प्रदेशको नाम परिवर्तन भएको उहाँले बताउनुभयो । अस्पतालको नाम परिवर्तन नगर्न आग्रह गर्दै उहाँले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफूले जग्गा उपलब्ध गराउने उहाँले बताउनुभयो ।
सांसद सुमनराज प्याकुरेलले शम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानविन अगाडि बढ्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । प्रहरीको टर्चरका कारण मृत्यु भएको भनदै परिवारले अहिलेसम्म शव नउठाएको उल्लेख गर्दै उहाँले सरकारी वकिल कार्यालयबाट हिजो मुद्दा दर्ता भएपनि छाननि शुरु नभएको बताउनुभयो । उहाँले तत्काल छाननिव गर्न माग गर्नुभयो ।