काठमाडौं । चैत ११ गतेदेखि जारी बन्दाबन्दी(लकडाउन)को बेला करिब ६ अर्ब रुपैयाँ बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यस अवधिमा ५अर्ब ९० करोड ९६ लाख १० हजार रुपैयाँ बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको उलेख छ।
त्यस अवधिमा ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपैयाँ बराबरको तयारी औषधि र १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा ३ लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।
उहाँका अनुसार बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । पहिलो सातादेखि दशौँ हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा छ दशमलव ९ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारीमा ४ प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा २ हजार ६५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव एक र तयारी औषधिमा ४४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
बन्दाबन्दीको अवधिमा केही वस्तुको आयातमा थपघट भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्कानुसार पाँचौँ सातादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात दशौँ साताको तुलनामा ११ औं सातामा दोब्बर भएको छ । बन्दाबन्दीको छैठौं सातामा दलहन तथा गेडागेडी, फलफूल तथा तयारी औषधि आयातमा वृद्धि भएको थियो भने औषधिको कच्चापदार्थ नवौँ सातामा आयातमा वृद्धि भएको थियो ।
रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधिलगायतका पदार्थ लिएर काठमाडौँ उपत्यकामा २३ हजार ८९० ट्रकहरु प्रवेश गरेको जनाइएको छ । ती मध्येमा धान बोकेका ७० , मकै बोकेका ३९२, चामलका ६६४, गहुँका १४७, मैदाका १५१, चिनीका १०१, नुनका ३१, दालका १०५, अण्डाका १३५, कुखुराका १६७, फलफूलका ४२०, दूधका २७६, औषधिका २०९, घ्यूतेलका १९२, अक्सिजनका ९ र तरकारीका ८२१ ट्रक उपत्यका प्रवेश गरेका थिए ।