काठमाडाैं । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको हो ।
तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २ र स्याङ्जामा १ जना गरी ५८ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला पोखरा, जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
तनहुँको रिसिङ गाउँपालिकाका २१ जनामा, ब्यास नगरपालिकाका २ जनामा र शुक्लागण्डकीका २ जनामा कोरोना देखिएको छ । नवलपुरको बुलिङटारका ११ जनामा, बौदीकाली गापाका १ जनामा, मध्यविन्दु नगरपालिकाका २ जनामा, विनय त्रिवेणी गापाका २ जनामा र देवचुली नपाका १ जनामा कोरोना पुष्टि भएको हो ।
गोरखाको भीमसेन नगरपालिकाका ५ जनामा, म्याग्दीको मालिका गापाका १ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको मादी गाउँपालिकाकी १९ वर्षे बालिकासहित २ जनामा, स्याङ्जाको पालिका नखुलेका १ पुरुषमा र बागलुङको काठेखोला गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।