नवीन लोचनमगररोल्पा । वन तथा वातावरण मन्त्रालय अन्तर्गत पहाडी साना किसानका लागि अनुकुलन आयोजना अन्तर्गत आशा परियोजनाले सिंचाई पोखरी निर्माण गरिदिएपछि रोल्पाको गजुलका स्थानीय दंग बनेका छन । हिउँदको समयमा सिंचाई अभावका कारण सुख्खा रहने करिब २ सय ४३ रोपनी जमिनमा सिंचाई हुने गरी आशा आयोजनाले पोखरी बनाइदिएपछि गजुलबासीमा खुसियाली छाएको हो ।
सिंचाई अभावका कारण हिउँदभर सुख्खा रहने सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६, गजुलकोट गाउँमा अबदेखि बाह्रै महिना सिंचाई हुने भएको छ । पहाडी किसानका लागि अनुकुलन आयोजनाले सिंचाई पोखरी निर्माण गरेको हो । बढ्दो औद्योगिकरण, वन विनास, अव्यवस्थित सहरीकरण तथा प्रविधिको बढ्दो प्रयोगले वातावरणमा प्रभाव परेकाले पानीका मुहान सुक्ने र सिंचाई अभावमा जमिन बाझो रहने समस्या अब गजुलबासीले भोग्नु नपर्ने आयोजना कार्यान्वयन इकाई रोल्पाका प्रतिनिधि दिपक केसीले बताउनुभयो ।
स्थानीय कुवापानी सामुदायिक वन उपभोक्ता समितिकाे अधिकार क्षेत्रभित्र पर्ने वन क्षेत्रमा निर्माण गरिएको तिते पोखरा सिंचाई पोखरी निर्माण आयोजनाले गजुलका ८१ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष चित्रजङ सेन जानकारी दिनुभयो । सिंंचाई पोखरी निर्माणमा आशा परियोजनाले १३ लाख ७० हजार, वडा कार्यालयले २ लाख र जन श्रमदानबाट ३ लाख ३६ हजार गरी १९ लाख ६ हजार खर्चिएको सुनिलस्मृति गाउँपालिका वडानम्बर ६ का अध्यक्ष अर्जुन सुवेदीले बताउनुभयो ।
परियोजनाले सुख्खा याममा पानीको उचित प्रयोग गरी सिंचित गर्ने र खाद्य तथा नगदे बाली उत्पादन बढाउने उद्देश्यका साथ सिंचाई पोखरी निर्माण गरेको हो । सिंचाई पोखरी निर्माणपछि हिउँदे बाली तथा तरकारी उत्पादनमा आफूहरुलाई धेरै सहयोग पुग्ने स्थानीय बताउँछन ।
आशा परियोजनाले गजुलमै भनारे पोखरी समेत निर्माण गरेको छ । पोखरी निर्माणले २५ घरधुरी लाभान्वित हुने स्थानीय हरिबहादुर थापाले बताए । बाह्रै महिना सिंचाई हुने भएपछि अब तरकारी उत्पादनमा वृद्धि गर्ने कृषकको योजना छ । गाउँमा सडक र विद्युत पुगे पनि पर्याप्त सिंचाईका लागि पानी नहुँदा तरकारी तथा अन्य वस्तु स्थानीयले बाहिरबाट आयात गर्दै आएका थिए ।