इलाम । देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ७२ करोड ६३ लाख ७७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । देउमाई नगरपालिकाको बुधबार भएको सातौँ नगरसभाले आर्थिक वर्ष ०७७/७८ को लागि बजेट पारित गरेको हो ।
नगरको आगामी आर्थिक वर्षको लागि सशर्त अनुदानमार्फत संघ सरकारबाट २६ करोड ५० लाख र प्रदेश सरकारबाट ११ लाख ७१ हजार गरी कुल २६ करोड ६१ लाख ७१ हजार रुपैयाँ रहेको छ । समानिकरण अनुदानका लागि संघ सरकारबाट ११ करोड ८२ लाख र प्रदेश सरकारबाट ७१ लाख ९३ हजार गरी कुल १२ करोड ५३ लाख ९३ हजार रहेको छ ।
राजस्व बाँडफाँडबाट संघबाट ८ करोड ६१ लाख ६३ हजार ६६० र प्रदेश सरकारबाट ६२ लाख १६ हजार गरी कुल ९ करोड २३ लाख ७९ हजार ६६० रुपैयाँ अनुमान गरिएको छ । समपुरका अनुदानतर्फ संघ सरकारबाट २ करोड ३२ लाख र प्रदेश सरकारबाट २ करोड ५० लाख रुपैयाँ गरी कुल ४ करोड ८२ लाख रुपैयाँ अनुमान गरिएको छ ।
संघीय सरकारबाट आगामी आर्थिक वर्षको लागि १ करोड रुपैयाँ विशेष अनुदानको अनुमान गरिएको छ । त्यसैगरी आन्तरिक आय आगामी वर्षको लागि १८ करोड ४२ लाख ३३ हजार ३४० रुपैयाँ अनुमान गरिएको नगरपालिकाका सुचना अधिकारी गोविन्दराज बास्तोलाले जानकारी दिनुभयो ।
नगरको आगामी आर्थिक वर्षको खर्चतर्फ चालु खर्चमा १३ करोड ३४ लाख ८७ हजार तथा पुँजीगततर्फ १६ करोड २१ लाख ४९ हजार रहेको छ । नगरले ९ वटै वडामा ४० लाखको दरले विनियोजना गरेको छ । त्यसैगरी कृषिको लागि १ करोड ७८ लाख, शिक्षामा २ करोड ८४ लाख ६० हजार र स्वास्थ्यमा २ करोड ४१ लाख १० हजार खर्च हुने अनुमान छ । देउमाईले नेपाल सरकारको शसर्त तर्फको २६ करोड ५० लाख, संघको समपुरक २ करोड ३२ लाख, भवन र अडिटरियमको लागि प्रदेश समपुरकको १ करोड, समपुरक कोषको १ करोड ५० लाख, संघको विशेष अनुदान १ करोड र प्रदेश सरकारको शसर्त अनुदान ११ लाख ७१ हजार खर्च हुने अनुमान गरेको छ ।
नगरले आर्थिक वर्ष ०७७/७८ को लागि मृगौला प्रत्यारोपण गरेका र मुटुको भल्व फेरेका बिरामीलाई निर्वाह भत्ता सहायता, जनता आवास कार्यक्रम, नगर प्रमुख सुरक्षित आप्रवासन कोष, प्रदेश समपुरक कोषको मुख्यमन्त्री सडक, डिजिटल नगरपालिकाको रुपमा विकासका कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यसैगरी संघको समपुरक कोषबाट नगरपालिका नमुना पिच, प्रदेश समपुरक कोषबाट वडाकार्यालय भवन र अडियोटरियम हल बनाउने भएको छ ।
डिजिटल एक्सरे र एनालाइजर व्यवस्थापन, जिल्ला अस्पताल स्तरोन्नतीको लागि भ्यान्टिलेरट स्थापना सहयोग, एम्बुलेन्स खरिद, ५० प्रतिशत अनुदानमा कृषि नर्सरी स्थापना, मंगलबारे बहुमुखी क्याम्पस प्राध्यापक तथा कर्मचारी व्यवस्थापन, २५ प्रतिशत साझेदारीमा विद्यालय बस खरिद, शिक्षण सिकाईमा सुचना तथा संचार प्रविधिको प्रयोग र खेलकुद ग्राम निर्माणलाई मुख्य प्राथमिकतामा राखेर ७२ करोड भन्दाबढिको बजेटलाई खर्च गर्ने लक्ष्य राखेको छ ।