काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणका् कारण जीवन गुमाउने संख्या ६ पुगेको छ । कोरोनाले पछिल्लो पटक शनिबार कैलालीको गोदावरी नगरपालिकामा थप १ जनाको मृत्यु भएको छ । योसँगै जस्वन गुमाउनेको संख्या ६ पुगेको हो ।
चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।
कोरोना संक्रमणको कारण यसअघि बाजुराका २ र कैलालीका ३जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ११६, वीर अस्पतालमा गरिएको परीक्षणमा ६ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी २ सय १४ मा संक्रमण भएको पुष्टि भएको छ ।
योसँगै प्रदेशमा शनिबारसम्म संक्रमितको संख्या २ हजार ७६ पुगेको छ । संक्रमित मध्ये ४ सय २४ महिला र बाँकी पुरुष छन् । शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा ३, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम ७ डोटीमा ६१ बझाङमा ८ जनामा संक्रमण भएको पुष्टि भएको हो ।
जिल्लागत रुपमा हालसम्म कैलालीमा ५ सय ७७ जना, अछाममा १ सय ३३, बैतडीमा २ सय ३१, बझाङमा ७२, बाजुरामा १ सय ९१, डडेलधुरामा २ सय २६, दार्चुलामा १६, डोटीमा ३ सय २३, र कञ्चनपुरमा ३ सय ७ जनामा कोरोना देखिएको छ।
प्रदेशमा अहिलेसम्म आरडिटी र पीसीआर पद्धतिबाट गरेर एक लाख २५ हजार २९३ को नमूना जाँच गरिसकिएको छ ।आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९ सय ३५ जनामा गरिएकोमा दुई हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । चार हजार १७४ जनाको नतिजा आउन बाँकी छ । यस्तै आरडीटी पद्धतिबाट १ लाख ८ हजार ३ सय ५८ को स्वास्थ्य जाँच गरिएको छ ।
प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन् ।
सङ्कलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पठाउने गरिएको छ । संक्रमितको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेशन उपचार भइरहेको छ । १ सय ३५ संक्रमित मध्ये अधिकांश स्थानीय तहको आइसोलेशनमा छन् । यस बाहेक कोरोनाका शङ्कास्पद थप १६ जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । प्रदेशमा हाल सम्म ५ सय ९४ सामान्य उपचारपछि घर फर्किएका छन् ।