भगीरथ भण्डारी इलाम । मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि असार १५ किसानको चाड नै मानिन्छ । असार १५ मा दही चिउरा खाने र दिनभर रोपाइँ गर्ने चलन थियो । अहिले नेपालका सबै भूभागमा किसानलाई धान रोपाइँको चटारो छ । तर यतिबेला रोपाइँको रौनकता कतै देखिँदैन भने असार पन्द्रमा दही चिउरा खानका लागि न कसैले चासो दिएको पाइन्छ । युवा पुस्ताले न असारे भाका गाउँछन न त दही चिउराको महत्वनै बुझेका छैनन् ।
झमझम पानी, रोपाइँका बाउसे र रोपार एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाइ बिर्सनु पर्ने हो । तर इलाममा यस्ता गीत कतै सुन्न पाइँदैन । खेतका गरा, खोलानाला र खहरेबाट झरेको पानीको आवाजसँगै असारे भाका गुन्जिँदा सुनिरहुँ जस्तो हुन्छ तर नयाँ पुस्ताका लागि असारे भाखा इतिहास बनेको छ । खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाखा पनि बिरानो बन्दै गएको बुढापाका बताउँछन्।
पहिले रोपाइँ हुँदा कस्कोमा रोपाइँ छ भन्ने आवाजबाटै थाहा हुन्थ्यो । रोपाइँको दिन असारे भाखामा गीत गाउँदै धान रोप्ने चलन थियो । तर अहिले असारे भाखा कतै सुनिदैन । असारमा दिनभर काम गर्नुपर्ने र थकाइको महशुस नहोस भनेर असारे भाखामा गीत गाउँने चलन रहेको फाकफोकथुम गाउँपालिका–३ की आईतमाया लिम्बु बताउँछिन् । उनी भन्छिन्, 'अहिले त रोपाइँ भएको हो कि होइन थाहा पाउनै छोडिसक्यो । सुनसान हुन्छ । कसैले भाखै ल्याउँदैनन् । अहिले रोपाइँ हुँदा खाजामा दही चिउरा हाेइन चाउचाउ खान्छन्।'
असार लागेसँगै किसान रोपाइँमा जुटिसकेका छन् । तर रोपाइँमा उहिलेको जस्तो रौनकता कतै भेटिँदैन । रोपार र बाउसेले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि कतै देखिँदैन । असारे भाका पनि कतै सुनिँदैन । उहिले रोपाइँमा खेतालाले चोयाबाट बनाएको घुम, जुटको बोरा ओडेर असारे गीत गाउँदै रोपाइँ गर्थे तर अहिले ती दिन एकादेशको कथा बन्दै गएको देखिन्छ । पहिले रोपाइँमा असारे गीतको भाखाबिना रोपाइँ भएको पाइँदैनथ्यो तर अहिले रोपाइँमा असारे गीत गुन्जिन छाेडेको बुढापाकाहरुको गुनासो छ । अहिलेको रोपाइँमा कुनै रौनकता नभएको उनीहरुको भनाइ छ । अहिलेका युवा पुस्ताले त अझ किसान र खेतीको कामलाई नै हेला गर्न थालेको महशुस हुने बुढापाका बताउँछन् ।
संस्कृति बचाउँप्रत्येक वर्ष धान दिवसको अवसरमा इलाममा पनि रोपाइँ महोत्सव हुन्थ्यो तर यस वर्ष कोरोना संक्रमणका कारण धान दिवसमा महोत्सव नहुने भएको छ । इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुर नारायण श्रेष्ठ विदेशी संस्कृतिमा रमाएका युवापुस्ताको दृष्टि असारे संस्कृति अपनाउने र असारे भाका गाउनेप्रति पनि जागरुक नभएको बताउनुहुन्छ । उहाँले आफ्नो संकृति जोगाउन भए पनि पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगै रोपाइँमा समावेश गराउनु पर्ने बताउँनुहुन्छ । उहाँले अहिले आधुनिक यन्त्र उपकरणबाट खेती गर्ने चलन बढेपनि ग्रामिण समुदायमा भने यसको पहुँच पुग्न नसकेको बताउनुभयो । ग्रामिण समुदायमा यन्त्र उपकरणको पहुँच नभएकै कारणले अझै पनि कहीँ कतै असारे भाषासहितको रोपाइँ देख्न पाइएको उहाँको भनाइ छ ।
१५ प्रतिशत मात्र रोपाइँ इलाममा असार १४ सम्ममा १५ प्रतिशत मात्र रोपाइँ भएको छ । इलाम नगरपालिका सन्दकपुर, माईजोगमाई, माङ्सेबुङ गाउँपालिकामा १५ प्रतिशत रोपाइँ भएको र अन्य पालिकामा शुरु हुन लागेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
धान दिवसअसारको मध्ये दिनलाई धान दिवसका रूपमा मनाउने चलन छ । असार १५ मा खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप् गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । नेपालमा २०६२ असार १५ देखि धान दिवस मनाउँदै आइएको छ । यस दिन दही चिउरा पनि खाइन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शीतलता प्राप्त हुने जनविश्वास छ ।