काठमाडौं । आज असार पन्ध्र, धानरोपाइँको पर्व र राष्ट्रिय धान दिवस । मुलुकभर धान रोपाइँ गरी दहीचिउरा खाने र हिलो खेली रमाउँदै रोपाइँ उत्सव गर्ने चलन छ ।
कृषि प्रधान देश नेपालका अधिकांश जनताको प्रमुख पेशा कृषि हो । नेपाली कृषि उपजमा धानको उत्पादन महत्वपूर्ण छ । धान देशवासीको प्रमुख खाद्यान्न बाली हुनुका साथै सामाजिक तथा साँस्कृतिक अर्थ बोकेको अन्न पनि हो । पूजापाठ गर्दा अक्षता लगाउँदा देवस्थलमा चढाउँदा भिक्षा दिंदादेखि पिण्डदान गर्दासमेत धानचामलकै आवश्यकता पर्दछ ।
धेरै प्रकारका रैथाने धान पाइने र हरेक नेपालीको आवश्यकता पूरा गर्ने अन्नबालीको रुपमा रहेको हुँदा धानको संरक्षण र सम्वद्र्धन गर्न सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको छ । मुलुकभर आज १७ राष्ट्रिय धान दिवस मनाइँदै छ । झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै काम गरेका किसानले शरीरलाई शीतलता र शक्ति दिन खेतमै दहीचिउरा, अचार, पुवा खाने गर्दछन् ।
असारे गीत गाउँदै धानखेतको दवदवे हिलोमा धान रोपेर आपसमा हिलो खेली रमाउनु रोपाइँ पर्वको आकर्षण हो । यसले आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउँछ । नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । लौकिक कथनमा वर्षकै सबैभन्दा लामो दिन मानिने असार पन्ध्रमा धेरै मेलो गर्ने र दहीचिउरा खाई रमाउने परम्परा छ ।
धान रोपाञी गर्दा सिमेभूमेको पूजा गरी खले गरामा बिउका मुठाको भकारी राखेर हिलाकै टीको लगाई उत्सवका रुपमा मनाइने हुँदा यो कृषिकर्म नेपाली समाजको साँस्कृतिक पर्व बनेको छ । पछिल्ला दिनमा रोपाइँलाई महोत्सवको रुपमा मनाई पर्यटन प्रवद्र्धनको उत्पादन पनि बनाइएको छ । विश्वको सबैभन्दा उच्चस्थानमा धान खेती गरिने नेपालको जुम्लामा काली मार्सी, जुम्लीमार्सी धान रोप्ने रोपाइँलाई साँस्कृतिक चाड नै मानिन्छ ।
आजभोलि हाइब्रिड धानको प्रयोग बढ्नाले नेपाली प्रकृतिमा पैदा भई संस्कृति बोकेका रैथाने धानका प्रजाति विलुप्त हुँदैछन् । यिनको संरक्षण गर्ने र धानखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा रोपाइँ गरी धान दिवस मनाउन थालिएको हो । असार पन्ध्रलाई कृषिसभ्यता र महत्व बुझ्ने, बुझाउने पर्वको रुपमा लिइएको छ ।
युवापुस्ता वैदेशिक रोजगारीमा जाँदा देशको खेतबारी बाँझै रहेको र खाद्यान्न आयातमा वृद्धि भएको वर्तमान अवस्थामा यस पर्वको सन्दर्भ अझ बढेको पाइन्छ । पर्व बिदा दिए जस्तै गरी केही दिनको रोपाइँ बिदा दिने गरेमा बाँझै रहेका देशका भूखण्ड हराभरा भइ खाद्यान्नको परनिर्भता हटाउन सहयोग पुग्ने पनि तर्क गरिँदैछ । तर कोरोना महामारीका कारण यस वर्षको रोपाइँ पर्व प्रभावित भएको छ ।