खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो १ सय रुपैयाँमा सलह किन्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो सलह खरिद गर्ने बताउनुभएको हो ।
‘कसैले समाएर ल्याइदिए किलोको १ सयले, एक हजार किलोसम्मको एक लाख भुक्तानी गरिनेछ’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडानम्बर २ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहनुभएका राईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।’
कृषिविज्ञ राईले आइतबार लेख्नुभएको फेसबुक स्टाटसमा भनिएको छ, ‘पक्रेर ल्याएको सलहबाट केही पशुपंक्षीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ ।’ उहाँले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रहसमेत गर्नुभएको छ । विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपंक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह राईको आग्रह छ ।
ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ । ‘बालीनालीमा देखिएको छैन’, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले भन्नुभयो, ‘लगातार परिरहेको पानीले रोकेर घरको भित्तामा ओत लागेको हुन सक्छ ।’
शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा खोटाङमा पनि देखिन थालेपछि किसानमा त्रास बढेको छ । जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह देखिएपछि जिल्लास्थित स्थानीय तह तथा कृषि ज्ञान केन्द्र खोटाङको आपतकालीन बैठक राखेर नियन्त्रणको प्रयास गरिरहेका छन ।