बन्दना पोखरेलपाल्पा । पछिल्लो समय बाँदर आतंकका कारण जिल्लाको रामपुर नगरपालिकाका किसान समस्यामा परेका छन । बादर आतंक बढ्न थालेपछि कृषकलाई राहत दिने उद्देश्यले यहाँका एकै परिवारका दुई दाजुभाईले एक बाँदर धपाउने उपकरण निमांण गरेका छन् ।
आफ्नो बारीमा धेरै बाँदर लाग्ने भएपछि बाँदर धपाउनका लागि उपकरण निर्माण गरिएको जायश्वर पाण्डेले बताउनुभयो । उहाँहरु दुई जनाले बनाएको बाँदर धपाउने यन्त्र नगरपालिकाको माथिल्लो भाग र फाँटको जंगलसँग जोडिएका बस्तीका कृषकलाई वितरण गरिएको छ । कृषकको मर्कालाई मध्यनजर गर्दै कालीगण्डकी फाउण्डेशन नेपालले बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।
कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा फलफुल बाँदरले सखाप पार्न थालेपछि समस्यामा परेका किसानको सहजताको लागि नगरका वडाहरुसँग समन्वय गरी उपकरण वितरण गरिएको हो । रामपुर -५ बेझाँडका जायश्वर पाण्डे र तिर्थ पाण्डे दाजुभाईले तयार गरेको उपकरण नगरपालिकासँग समन्वय गरी फाउण्डेशनले बाँदर प्रभावित टोलमा एक-एक यन्त्र वितरण गरेको छ ।
पाण्डे दाजुभाईले साढे २ फिट लामो ४ इन्च र ३ फिट लामो २.५ इन्चको पिभिसी पाइप जोडेर तयार गरेको उपकरण केही समयअघि इलाका प्रशासन कार्यालय, प्रहरी कार्यालय र नगरपालिकाको राेहबरमा परीक्षण गरिएको थियो । परिक्षण पश्चात उपकरण थप निर्माण गर्न लगाई फाउण्डेशनले नगरपालिकासँग समन्वय गरी कृषकलाई वितरण गरेको हो । पहिलो चरणमा शुक्रबार फाउण्डेशनको कार्यालयमा एक कार्यक्रम गरी वडा नम्बर १, ३, ४, ५ र ७ का कृषकलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको हो ।
कार्यक्रममा उपकरण बनाउने युवा जायश्वर पाण्डेले उपकरणको प्रयोग र प्रभावकारीताबारे जानकारी दिनुभएको थियो । रामपुर -७ का कृषक कर्ण लुइँटेलले माथिल्लो भागको बस्ती पातलिँदै जाने र वन बढ्दै जाँदा बाँदर लगायत अन्य वन्यजन्तुले निकै सास्ती दिने गरेको बताउनुभयो । बाँदर धपाउने उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बोहाइड’ र पानीको मिश्रण राखेर पछाडीबाट ग्यास लाइटरको सहयताले आगो लगाएपछि ठूलो आवाजमा पड्किँदा बाँदर भाग्ने विश्वास लिइएको छ ।