टिप्पणी काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यहरु यतिखेर प्रधानमन्त्री केपी ओलीविरुद्ध ध्रुवीकृत हुँदै गएका छन् । प्रधानमन्त्री ओली पछिल्लो समय स्थायी समितिको अलवा संसदीय दलमा समेत कमजोर हुँदै जानुभएको छ ।
स्थायी समिति र संसदीय दलमा कमजोर भएपछि ओली प्रधानमन्त्रीबाट बाध्यात्मक रुपमा बाहिरिनु पर्ने अवस्था आएको छ । पार्टीले वैधानिक रुपमै प्रधानमन्त्रीबाट हटाउने योजना र तयारी गरेपछि ओली अहिले त्यसको बचाउन अभियानमा लाग्नु भएको छ । त्यही अभियान अन्तरगतको निर्णय हो, संघीय संसदको वर्षे अधिवेशन अन्त्य ।
अमेरिकी सहयोग निगम (एमसीसी) , मुलुकमा कोरोना भाइरस संक्रमणकाे अवस्था, प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको कामको समीक्षा गर्न गएको आइतबारदेखि नेकपाको स्थायी समिति बैठक भइरहेको छ । बैठक अन्य विषय भन्दा प्रधानमन्त्री ओलीको कार्यशैलीमा बढी केन्द्रित छ । बैठकमा स्थायी समिति सदस्यहरु प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । स्थायी समितिका नेताहरुले पार्टी जोगाउनको लागि ओलीलाई प्रधानमन्त्री पद छोड्न सुझाव समेत दिएका छन् । तर प्रधानमन्त्री ओली स्थायी समिति सदस्यहरुको सुझाव बेवास्ता गर्दै पद बचाउनमा लाग्नु भएको छ ।
स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्रैबाट संसदमा अविश्वासको प्रस्ताव दर्ता हुने स्थिति देखिएकाे छ । तर प्रधानमन्त्रीले आफूमाथिको अविश्वास टार्ने योजनामा लाग्नु भएको हाे । त्यही कारण सरकारले हतारमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीले आफूमाथिको अविश्वास छल्नकै संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्थायी समिति उच्च स्रोतले जनाएको छ । ‘पार्टीका शीर्ष नेता र स्थायी समितिका दुई तिहाइ सदस्यले उहाँलाई प्रधानमन्त्रीबाट राजीनामा दिन सुझाव दिए तर उहाँले ख्याल ठट्टामै उडाउनु भयो’ स्थायी समितिका एक उच्च नेताले जनता समाचारसँग भन्नुभयो, ‘संसदमै उहाँमाथि अविश्वास प्रस्ताव दर्ता हुने अवस्था आएपछि संसदको वर्षे अधिवेशन अन्त्य गर्नेतिर लाग्नुभयो ।’
मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)कामे वर्षे अधिवेशन असार १८ गते बेलुकी ५ बजे देखि अन्त्य गर्नुभएको छ । राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गरेपछि ओलीको प्रधानमन्त्री पद केही समयको लागि जोगिएको छ । संसद अधिवेशन अन्त्य गराएर प्रधानमन्त्री ओलीले तत्कालको लागि पद त जोगाउनु भयो तर यसबाट उहाँको साख भने जोगिएको छैन ।