सुर्खेत । कर्णालीमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ जना अस्पतालबाट घर फर्केसँगै प्रदेश संक्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।
दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट ६ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका २ जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
‘शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको संख्या १ हजार १ सय ७८ पुगेको छ’, उहाँले भन्नुभयो, “यसले बाँकी रहेका ३ सय ५ संक्रमितको मनोवल बढेको छ ।’ कर्णालीका संक्रमितमा कोरोना भाइरस संक्रमित देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उहाँले बताउनुभयो ।
दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा नारायण नगरपालिकाका ८ र डुङ्गेश्वर गाउँपालिकामा १ जनामा संक्रमणपुष्टि भएको छ । कर्णालीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८३ पुगेको छ । त्यसमध्ये १ सय ५ जना स्थानीय संक्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टाइन बसेका हुन् ।
महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय संक्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टिन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि रहेका छन् । अधिकृत कँडेलले भन्नुभयो, ‘२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ, तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् ।’ कोरोना संक्रमणका कारण कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।