काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेतृत्वबीचको मनमुटाव सार्वजनिक भएपछि केन्द्रीय सदस्यहरुले त्यसविरुद्ध खबरदारी गर्न थालेका छन् ।
एकता कायम राख्न र पार्टीलाई विधिसम्वत ढंगले संचालन गर्न केन्द्रीय सदस्यहरुले शुक्रबारदेखि पार्टी मुख्यालय धुम्बाराहीमा सत्याग्रह थालेका हुन् । पार्टीलाई विचार र पद्धतिबाट संचालन गर्न नेतृत्वप्रतिको खबरदारीयुक्त सत्याग्रह शनिबार पनि जारी छ ।
‘आदरणीय नेताहरु समस्याको समाधान पार्टी बैठकबाटै खोज्नुस, पार्टी एकता बलियो बनाउनुस्’ भन्ने अपिलका साथ शुरु भएको सत्याग्रहमा शनिबार केन्द्रीय सदस्यहरु डा. विजयकुमार पौडेल, नागेन्द्र चौधरी, रवीन कोइराला, प्रेमलकुमार खनाल, बलावती शर्मा , ठाकुर गैरे, भास्कर काफ्ले, हिमाल शर्मा र निरज आचार्य लगायतका नेता सहभागी हुनुभएको छ ।
केन्द्रीय सदस्यहरु सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् । सरकारको काम, नेतृत्व र सहभागीतालाई व्यवस्थित गर्न चालू स्थायी समितिको बैठकमा नेतृत्वको समीक्षा हुनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ ।
केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालयमा शुरु गरेको सत्याग्रहको देशभरका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । केन्द्रीय सदस्यहरुले जिल्ला जिल्लामा समेत यस्तो अभियान संचालन गर्न आव्हान गरेका छन् ।