रुकुम । रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले दूध उत्पादकलाई प्रोत्साहन गर्न किसानलाई उपलब्ध गराएको अनुदानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो । दूध उत्पादकको अनुदानलाई आर्थिक वर्ष २०७७, ०७८ मा पनि निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।
व्यक्तिगतरूपमा दूध उत्पादनमा लागेका किसानलाई लक्षित गरेर ल्याइएको कार्यक्रम चालु वर्षमा राम्रो भएकाले अर्को वर्षका लागि पनि यसलाई निरन्तरता दिन लागिएको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिनुभयो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रममा दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ ।
नगरपालिकाले यो वर्ष दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिएको थियो । दूध उत्पादनलाई बढाउन प्रोत्साहनस्वरुप किसानलाई प्रतिलिटरमा अनुदान दिने कार्यक्रम नगरपालिकाले बनाएको थियो । १ लाख ६० हजार रुपैयाँ व्यवस्थासहित बनाइएको यो कार्यक्रममा चाल आर्थिक वर्षमा १ लाख १५ हजार खर्च भएको नगर पुश सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष १८ दूध उत्पादक किसानले अनुदान प्राप्त गरेका छन् । अनुदान पाउनका लागि कम्तीमा ५ सय लिटर दूध उत्पादन गरेको हुनुपर्नेछ । प्रावधानअनुसार नगरभरका व्यक्तिगत रूपमा दूध उत्पादन गरिरहेका १८ किसानले कम्तीमा १ हजार ५ सय देखि बढीमा २४ हजार ६ सय रुपैयाँसम्म अनुदान पाएको सापकोटाको भनाइ छ ।
अनुदानका लागि वर्षभरिमा कम्तीमा ५ सय लिटर दूध उत्पादनका साथै नगरमा सूचीकृत डेरीमा दूध बिक्री गरेको हुनुपर्ने नियम तोकिएको छ । आगामी वर्षका लागि नगरपालिकाबाट भैँसी प्रवद्र्धन कार्यक्रमका लागि २१ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ । संघीय सरकारबाट पनि यो शीर्षकमा यति नै मात्रामा बजेट आएको नगरपालिकाले जनाएको छ ।
दूधमा अनुदान कार्यक्रम यसै शीर्षकको बजेटबाट सञ्चालन हुने र बजेट बिनियोजन हुन बाँकी रहेको नगर पशु सेवा शाखा प्रमुख सापकोटाले बताउनुभयो ।