तनहुँ । म्याग्दे गाउँपालिकाले बाँदर धपाउन किसानलाई निःशुल्क बन्दुक वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका बाँदरपीडित कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरिएको हो ।
गाउँपालिकाले पहिलो चरणमा कृषकलाई ९० थान बन्दुक वितरण गरेको छ । स्याङजाको वालिङ नगरपालिकाबाट २ लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरी कृषकलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताउनुभयो । बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरु गाउँपालिकामा आएर राहत चाहियो भन्दै आन्दोलन गर्ने गरेका थिए । रानाले भन्नुभयो,‘‘पहिलो चरणमा आएको बन्दुक भेग मिलाएर बाँडेका छौँ, अझै पनि माग अनुसार पुगेको छैन, मगाएर वितरण गर्ने योजना छ।’ गाउँपालिकाभित्र ८४ वटा टोल विकास संस्था आबद्ध छन् । एक टोलमा २ वटाको दरले वितरण गर्नुपर्ने देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपासका क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका स्थानमा मा बाँदरले खेतीबाली नष्ट गर्न थालेपछि कृषकहरु पटकपटक गाउँपालिकामा आएर बन्दुकको माग गर्दै आएका थिए ।