काठमाडौं । नेपाल राष्ट्र बैंकले नाडेप लघुवित्त वित्तीय संस्थाका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही प्रक्रिया थालेको छ । केन्द्रीय बैंकले पटक–पटकको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंक ऐनअनुसार संस्थाका अध्यक्ष, संचालक र सीइओलाई कारबाही थालेको हो ।
राष्ट्र बैंकले ‘घ’ वर्गको नाडेप लघुवित्त वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष पिताम्बरप्रसाद आचार्य, संचालकहरु र प्रमुख कार्यकारी अधिकृत उपेन्द्रबहादुर कार्कीलाई कारबाही थालेको छ । राष्ट्र बैंकले संस्थाको विषेश निरिक्षणपश्चात् दिएको निर्देशन पालना नगरेको र राष्ट्र बैंकले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि कारबाही थालेको हो । राष्ट्र बैंकको २०७७ असार ९ गतेको बोर्ड बैठकको निर्णयअनुसार असार २१ गते पत्र काटी राष्ट्र बैंक ऐन २०५८ को दफा १०० अनुसार कारबाही थालेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार केन्द्रीय कार्यालय गजुरी, धादिङमा वित्त विभाग नराखी काठमाडौंको सम्पर्क कार्यालयमा वित्तीय विभाग स्थानान्तरण गरेर वित्तीय कारोबार गरेकोमा ३५ दिनभित्र केन्द्रीय कार्यालयमा वित्तीय विभाग स्थानान्तरण गरी जानकारी उपलब्ध गराउन संस्थालाई निर्देशन दिएको छ । सार्वजनिक शेयर निष्काशन गनरी सर्वसाधारणको शेयरधनीको प्रतिनिधित्व नभएको अवस्थामा संचालक, प्रबन्ध संचालक, सिइओ तथा निजको निकटत्तम तल्लो वरियताको अधिकारीको पारिश्रमिक र सेवा सुविधा वृद्धि गर्न नपाउनेमा सो वृद्धि गरी सेवा सुविधा लिएकोमा त्याे रकम असुल उपर गर्न यसअघि केन्द्रीय बैंकले विभागीय निर्देशन दिएको थियो । त्याे निर्देशन हालसम्म पालना नभएको, आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम लेखापरिक्षण तथा वार्षिक साधारण सभा हालसम्म सम्पन्न गर्न नसकी संस्था सहज ढंगले संचालन गर्न नसकेको आरोपसहित संस्थाका अध्यक्ष आचार्यलाई राष्ट्र बैंक ऐनअनुसार कारबाही थालेको हो ।
कामको शिलशिलामा बाहेक सीइओ, कर्पाेरेट कार्यालयमा नियमित उपस्थित हुन नपाउने नियम विपरीत नियमित केन्द्रीय कार्यालयमा हाजिर नभइ कर्पाेरेट कार्यालयमा हाजिर भएको, कर्मचारी र व्यवस्थापनबीचको असमझदारीलाई समयमै निराकरण गर्न नसकेको, संस्थाको आन्तरिक लेखापरीक्षण समयमै सम्पन्न गर्न नसकेको, वार्षिक साधारण सभा समयमै गर्न नसकेको, मासिक÷त्रैमासिक विवरण समयमै राष्ट्र बैंकसमक्ष पेश गर्न नसकेको, कर्मचारी व्यवस्थापन उचित ढंगले गरी निर्वाधरुपमा संस्था संचालन गर्न नसकेको कारण संस्थाका निक्षेपकर्ता, शेयरधनीहरु तथा सम्बद्ध पक्षहरुको अहित हुने कार्य गरेको पाइएकोले राष्ट्र बैंक ऐनअनुसार सीइओ कार्कीलाई कारबाही थालेको हो ।
राष्ट्र बैंकले अध्यक्ष, संचालक र सीइओलाई कारबाही गर्न नपर्ने कुनै कारण भए १५ दिनभित्र स्पसिष्टकरण पेश गर्न पत्र थमाएको हो । संस्थाले अनावश्यकरुपमा कर्मचारीलाई स्पष्टिकरण सोध्ने र बर्खास्ती गर्ने, समयमै पारिश्रमिक भुक्तानी नगर्ने, अनावश्यक सरुवा गर्ने, राष्ट्र बैंकको उपस्थितिमा व्यवस्थापन र कर्मचारीबीच भएको सम्झौता कार्यान्वयन नगर्ने लगायतका कैफियत भेटिएको छ ।