प्रकाश गौतम रुकुम (पश्चिम) । रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा प्रहरीबाट एक महिलालाइ प्रहरीले कुटेको भडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै अनुसन्धान शुरु भएको छ । दुई महिना अघि एक महिलालाई प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भेटिएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको हो ।
गत जेठ १ गते महिलामाथि कुटिपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभएको छ । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा स्वास्थ्यकर्मीलाई र प्रहरीलाई दुव्र्यहार गरेको आरोपमा वडा नम्बर ९ की २१ वर्षीया नेहा विष्टमाथी कुटपिट भएको हो । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटनाप्रति घोर भर्त्सना गरिएको छ ।
प्रहरीका अनुसार बिष्ट जेठ १ गते नेपालगञ्जबाट ट्रकमा आएर साझँ साढे ५ बजे जाजरकोट जिल्ला हुँदै भेरी नदीको पुल तरेर राडीबजार आएकी थिइन् । उनी हेल्प डेस्क भएको ठाउँमा पुग्दा उनको शरीरमा कुनै पनि कपडा थिएन । ‘बजारमा एक जना महिलाले उनलाई कपडा लगाइदिइन् ।
कोरोना महामरीका बेला बाहिरी जिल्लाबाट आएको हुनाले स्वास्थ्यकर्मी डोल्मा मल्ल र सुरक्षाकर्मीले केरकार गर्दा बिष्टले दुबैमाथी दर्व्यवहार गरेको बताइएको छ । मदिरा सेवन गरेकी बिष्टलाई प्रहरी जवानहरुले नियन्त्रणमा लिन नसकेपछि नगर महिला प्रहरी निर्मला विकलाई बोलाएर नियन्त्रनमा लिइएको बताइएको छ ।
पानीमा भिजाएपछि मदिराले छोड्छकी भनेर विष्टकी दिदीको आग्रहमा नै पानीमा भिजाउने क्रममा विष्टले आफूमाथि हातपात गरेपनि घटना शुरु भएको विकको भनाइ छ । नगर महिला प्रहरी निर्मला विक, इलाका प्रहरी कार्यालय आठविसकोटमा कार्यरत प्रहरी जवानहरु शक्ती परियार र आइते रावतलाई घटनाको अनुसान्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुममा ल्याइएको डिएसपी केसीले बताउनुभयो । महिला कुटपिटमा संलग्न हवल्दार पृथ बहादुर आग्री यसअघि दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।
अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरीले बताएको छ । घटनामा संलग्न जो कसैलाई पनि कानुन अनुसार कारबाही हुने डिएसपी केसीले बताउनुभयो ।
यता आठविसकोट नगरपालिकाले नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकलाई निलम्बन गरेको छ । विकले ती महिलालाई धेरै पटक लाठी, बुड तथा हातले हानेको भिडियोमा देखिन्छ । भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।