कास्की । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । म्याग्दीमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घर बिहीबार राति पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।
त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घटनामा ३ वटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर पहिरोले पुरिँदा चन्द्रबहादुर श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिनुभयोे । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको छ ।
म्याग्दीमा पहिरोमा ६ बेपत्ताम्याग्दीको धौलागिरी गाउँपालिका वडानम्बर ६ मराङको रिखामा पहिरोमा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।स्थानीयवासीसमेत रहेका वडा सदस्य लोकबहादुर पुनले भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको बताउनुभयो । उहाँले माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका बताउनुभयो । घण्टीवाङ मुनीको रिखामा ६ घरको बसोबास थियो तिमध्ये ४ घर विस्थापित भएका छन् । गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको वडा सदस्य पुनको भनाइ छ । पहिरो खसिरहेकाले भागाभाग जारी रहेको उहाँले बताउनुभयो ।
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले २ घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसले भागेर ज्यान बचाएका छन् भने भाग्ने क्रममा एक जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । पुल म्याग्दीको बेनी नगरपालिका वडानम्बर ९ गलेश्वर र रघुगङ्गा गाउँपालिकाको वडानम्बर ३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।गलेश्वरका स्थानीयले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताएका छन् । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थल नपुगिसकेकाले विस्तृत जानकारी आउन बाँकी छ ।