म्याग्दी । हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङ र मालिका गाउपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परेर २९ जना वेपत्ता भएका छन् । धवलागिरी–६ का २१ र मालिका–७ बिमका ८ जना वेपत्ता भएका हुन् । मराङको रिखामा ७, नामरुकमा १०, ठूलोगाउमा १ र कुम्रिमा १ जना वेपत्ता भएका वडा अध्यक्ष राजाराम सवेदीले बताउनुभयो ।
रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना वेपत्ता भएका छन् । वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीनवटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्वार गरिएको छ ।
यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले पुरिदा बिष्णु शर्मा र इच्छा शर्मा वेपत्ता भएका छन् । वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलिसा शर्मा पनि पहिरोमा वेपत्ता भएकी छन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ ।
बिम तल्लो गाउका पूर्ण नेपाली र बिरबहादुर नेपालीको घर पुरिदा पाँच जना वेपत्ता भएका छन् । भारवाङ स्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताउनुभयो । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढा लगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।
धवलागिरी गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिनुभयो । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्कीएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ । मानवीय क्षति भने भएको छैन। ताकमकै देउबुजामा छ घर पहिरोको जोखिममा परेका स्थानीय गोपाल आचार्यले बताउनुभयो ।
यसैबीच रघुगंगा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाट तर्फको जिप भत्काएर बगाएको रघुगंगा गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगंगा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ति कटाउनको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
गलेश्वरका स्थानीय दिपक कार्कीले ठेकेदारले पक्कि पुल बनाउन ढिलाई गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताउनुभयो । बेलिब्रिजको छेउमा पक्कि पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित ठाउँमा सेना, शसस्त्र र नेपाल प्रहरीको टोली उद्वार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । घाइतेहरुको उद्वार र वेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।
वर्षा भइरहेको र बादल लागेको तथा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाई भएको डिएसपी किरनजंग कुँवरले बताउनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उहाँले बताउनुभयो । बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगंगा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिंगा तातोपानीका दुई जनालाई उद्वार गरिएको छ । मंगला–३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासी बाढी आएपछि पसेका थिए ।
प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्वार गरेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । भू–तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाई म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सिमित ठाउँमा भएको अत्याधिक वर्षा, कमजोर भूगोल र अव्यवस्थित विकास गतिविधिले पहिरोको जोखिम बढेको बताउनुभयो ।