कैलाली । कोरोना भाइरसको संक्रमण कम गर्न चैत ११ गतेदेखि नेपाल सरकारले देशभर लकडाउनको घोषणा गर्यो । देश लकडाउनमा गएसँगै अधिकांश व्यापार व्यवसायीहरुको व्यवसाय ठप्प भयो । तीन महिनासम्म पूर्णरुपमा देशमा लकडाउन भएपछि रिक्सा व्यवसायीहरु पनि संकटमा परेका छन् । हाल लकडाउन केही खुकुलो भएर रिक्सा चलाउन थालेपनि यात्रु नपाइएपनि उनीहरु चिन्तामा परेका छन् ।
सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करिब १० हजार रिक्सा छन् । रिक्सा व्यवसाय नचलेपछि १० हजार नागरिकको रोजीरोटी सङ्कटमा परेको रेग्मी बताउनुहुन्छ । 'तीन महिना पूर्णरूपमा रिक्सा बजारमा आउन सकेनन्, आजभोलि चलाउन खोजेका छन् तर यात्रु छैनन् । रिक्सा चालकको पेशा सङ्कटमा परेको छ', उहाँले भन्नुभयो ।
कोरोना भाइरस सङ्क्रमणले मुलुक नै अस्तव्यस्त भएको छ । लकडाउनले सबैभन्दा बढी असर सामाजिक र आर्थिक क्षेत्रमा परेको छ । कैलालीको जानकी गाउँपालिका–६ का मङ्गल चौधरीले गएको माघ महिनामा इलेक्ट्रोनिक रिक्सा किनेका थिए । माघ १० गते ६ लाख २२ हजार ऋण गरेर रिक्सा किनेका मङ्गलले दुई महिना राम्रोसँग रिक्सा चलाए । दुई महिनापछि देशमा लकडाउन भयो। उनलाई बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरिरहेको छ । उनलाई अब ऋण कसरी तिर्ने भन्ने चिन्ता बढेको छ ।
जानकीकै रवीन्द्र नेपालीलाई पनि रिक्सामा यात्रु नपाउँदा समस्या भएको छ । उनलाई पनि ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको छ । 'तीन महिनापछि रिक्सा चलाउँदा पनि यात्रु पाइन्न, हिँजो त दिनभरि यात्रु कुरेँ, एक जना पनि पाइनँ', रवीन्द्रले भने, 'घर पनि कसरी चलाउने ? यही पेशाबाट परिवार पालेको थिएँ, अब त भोकमरी होला जस्तो छ ।'
रिक्सा चालक राजकुमार चौधरीले पनि दुई वर्षअघि ऋण गरेर रिक्सा किनेका थिए । उनले दुई वर्ष राम्रो कमाइ गरे । रिक्सा किन्दाको ऋण दुई वर्षमै चुक्ता गरे तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि रोकथामका लागि भएको लकडाउनको असरले दैनिकी भने चल्न मुस्किल भएको छ । 'दैनिक दुई हजारदेखि चार हजासम्म कमाइ हुन्थ्यो, अब नियमित वचत गर्छु र घर चलाउँछु भन्ने सोचेको थिएँ', राजकुमार भन्छन्, 'तीन महिनामा घर खर्चमा ५० हजार ऋण लागिसकेको छ । न त रिक्सा चल्छ, जीवन तनावमय भएको छ ।'
रिक्सा चालक इन्द्र विक पनि यात्रु नपाएर दिक्क छन् । उनले पनि ऋणमा किनेको रिक्सा राम्रो नचलेपछि चालक पेशाबाट विस्थापित हुने अवस्था आउने चिन्ता बढेको बताउँछन् । रिक्सा चालकलाई कोरोनाको डरले निर्वाध रिक्सा चलाउन पनि कठिन भएको छ । रिक्सा चालक गुजारा गर्नै गाह्रो भएको गुनासो गर्न थालेका छन् ।
रिक्सा चालक जनक परियारले यही पेशाबाट परिवार पालेकालाई जीवन निर्वाह गर्न कठिन भएको बताउँछन् । 'शुरुमा त कोरोना सङ्क्रमण होला भन्ने डर थियो, अब त भोकै मरिन्छ भनी कोरोनाको डर हराएको छ', जनकले भने, 'यात्रु कुरेर बस्छौँ, यात्रु पाए पनि एक जना मात्रै बस्न खोज्छन्, यात्रु पनि धेरै जनासँगै बस्न चाहँदैनन्, अनि कसरी आम्दानी हुनु ? पेट्रोल हाल्न कठिन भएको छ ।'
सिद्धि विनायक यातायात प्रालिका महासचिव रेग्मी कोरोना भाइरस सङ्क्रमणको असर सबैतिर परेकाले रिक्सा चालकलाई केही समय ऋणको किस्ता नमाग्न, ब्याज मिनाहा गर्न माग गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, 'हामीले स्थानीय सरकारलाई ब्याज मिनाहाका लागि बैंकसँग पहल गरिदिन अनुरोध गरेका छौँ । रिक्सा चालक ब्याज मिनाहा नभए पेशाबाट विस्थापित हुने निश्चित छ ।'