अर्जुन थपलिया
फूल फुल्ने मौसम । वातावरणमा मादकता । नव पल्लवित वृक्षहरु । जता हेर्यो उतै सौन्दर्यको पुलक । वसन्तको यौवनावस्था, जताततै मनोहर सुन्दरता । पवनको गति र उष्णतामा वृद्धि । मञ्जरी फुलेर पहेँलपुर देखिने आम्रवृक्षहरु र स्वर किन्नरी कोयलीको कुहुकले मिथिलाको हावामै नसा घोलिए झैं लाग्छ । मानव मनमा प्रेमानुरागको रमरम जाग्ने । प्रकृतिको अछुता कौमार्य मानव मनमा सौन्दर्यता प्रत्यारोपित गर्न आतुर । एकातिर यो ऋतुगत अनुपम अवसर ।अर्कोतिर गुलाल उडाएर आकाशलाई सप्तरङ्गी बनाउने कौतुक । श्रृङ्गार रसमा गाईने प्रेम अभिव्यक्त गर्ने गीत लहरी , अरुवेला लोकलज्जाको प्रतिवन्ध भए पनि यसवेला महिला, पुरुष युवा युवती सँगसँगै उफ्रीपाफ्री गर्न पाईने । कौमुदी महोत्सवको यो सुन्दर सांस्कृतिक छटा । असिमित उमंग, अपरिमित उल्लासको रङ्गिन पर्व होली । मानाै फागू कै उल्लासका कारण जीवन जीउन योग्य छ । सायद मैथिली भाषाको यो उखानले त्यही ईङ्गिध गर्छ ‘जे जीवै से खेले फाउग’ । अर्थात बाँची रहे फागू खेलौँला ।
हुनत वसन्त ऋतु प्रारम्भ भए देखि नै मिथिलामा रङ्गपर्व सुरु हुन्छ । घर आएका कुटुम्वहरुलाई रङ्ग दल्न र वस्त्रमा रङ्ग घोलेर हाल्न शुरु गरिन्छ । नव बिवाहित युवाहरु ससुराली जान्छन् । एक त उखानै छ ‘मिथिलाके सासुर स्वर्ग समान’ अर्थात मिथिलामा ससुराली गएका ज्वाईहरु स्वर्गिय आनन्दको अनुभुति गर्छन् । साला ,साली र सोल्टी जस्ता प्रियजनहरुसंग हसिमस्खरी तथा रङ्ग छ्यापाछ्याप गर्न थोरै जोर जुलुम । पिचकारीको नालवाट निस्केको रङ्गले एउटाको प्रेम अर्कोको वस्त्रमा प्रत्यारोपित गर्छ । होलीको दिन पुरै समाज वर्षभरीकोे सामाजिक ढर्रावाट मुक्त हुन्छ । सवै कठोर नैतिकता र आदर्शको वन्धन चुँडाएर उन्मुक्त आकाशमा उडाउन भर्ने तयारी देखिन्छ । अर्थात पुरै समाज स्वच्छन्दताको रस स्वादन गरिरहेको हुन्छ । सिङ्गो समाज एक माहारासमा लिप्त हुन्छ । होलीको मनोरमतालाई हेर्दा र अनुभूति गर्दा लाग्छ मानौ समयको सारा गतिलाई रोकेर यही एक दिनमा पुरै जीवन जीउने अभिलाषा जागिरहेको छ । होलीको दिनको मैथिली समाज अलौकिक मधुशालाको रसपान गरे जस्तो देखिन्छ ।
जीवन फगत नैतिकता र आदर्शको बन्धनमा बाँधिनु मात्र होईन । सामाजिक जीवन पद्धतिका औपचारिकताहरु परिपालना गर्दा–गर्दा दिक्दार भईरहेको समाज होलीको दिन पाखण्डमुक्त हुन्छ । होलीको दिन मिथिलामा होलीको बेग्लै अनुभूति हुन्छ । आफूलाई अर्के ससांरमा आएको अनुभूति हुन्छ गीत नाँच, जोगिरा ( सवाल जवाफ सहितको मुक्तक ) मार्फत रतिरागलाई सार्वजनिक अभिव्यक्तिमा ल्याईन्छ । समाज प्राकृतिक जीवनमा फर्किन्छ । तर होलीको दिनको जनजीवन उन्मुक्त भए पनि खजुराहोको नग्न मुर्तिहरु झैं अश्लिलता बोध हुँदैन, सौन्दर्य मात्र प्रदर्शन हुन्छ विप्रलम्भितहरुका व्यथाहरु समेटेर करुण रसमा विरहका भाका पनि गाईन्छ । खसमहरु प्रदेशमा रहेका विरही नारीहरुको क्रदन र कुण्ठालाई अभिव्यक्त गर्ने मैथली संस्कृतिको अभिन्न अङ्ग चैतावरी गीतले होलीमा अझै रौनक थप्छ ।
होली अहंकारको मृत्यु भई प्रेम प्रफुष्टन हुने दिन । फगत औपचारिकतालाई तिलाञ्जली दिएर प्रेमातिरेकमा डुवुल्की मार्ने मनहरु घर वाहिर निस्कन्छन् । एक अर्का प्रति स्वतः सदभावले भरिने गर्छन् । त्यसैले वर्षौ–वर्ष देखिको शत्रुता विर्सेर होलीको दिन एक अर्कालाई अङ्कमाल गरिन्छ । एक आपसमा रङ्ग दल्ने, मिठाई खुवाउने र अग्रजहरुको पाउ ढोग्ने मानव–मानव वीच सद्भाव साटासाट गरेको अनुपम दृश्यहरु पनि बाक्लै देखिन्छ । यसर्थमा सामाजिक मेलमिलापका दृष्टिकोणवाट पनि होली महत्वपूर्ण छ ।
रङ्गको लालित्य, भाङ्गको नसा , मिठाई मालपुवा तथा अन्य सुस्वादु पकवानहरुको तृप्ती, डम्फा ( तराईको एक लोक वाजा ) को तालमा गाईने श्रृङ्गार र करुण रसका गीतहरु, काम वासना जाहेर गर्ने शव्द मिश्रित जोगीरा , मनमौजी नृत्य , प्रेमपूर्ण आलिङ्गण , सोमरसमा वेसुर भएकाहरुको भावभङ्गिमा मिथिला क्षेत्रको होलीको खास विशेषता हुन् ।
सौन्दर्य त एउटा पाटो हो तर विकृतिको अर्को पाटो पनि छ । संस्कृतिले आनन्द उत्सवको रुपमा लिएको होलीमा अत्यधिक मादक पदार्थ पिउने र त्यसपछि सवारी साधन चलाउने, वालात रङ्ग हाल्ने , हिलो र फोहर छ्याप्ने , लोला हान्ने जस्ता अमर्यादित कार्यहरु पनि हुन थालेको छ । यो पक्ष भने दुखःद छ । एकतर्फ सबै कुरा बिर्सेर पुरानो शत्रुता भुलेर होलीको दिन एक अर्कालाई अङ्कमाल गरिन्छ, तः अर्कोतर्फ बिगतको दुस्मनीका कारण दागाधरेर होलीको मौकामा बदला लिनेहरु पनि कम हुँदैनन् ।