पाँचथर । जिल्लामा सबै कोरोना संक्रमित निको भएरघर फर्केका छन् । सबै संक्रमित निको भएपछि क्वारेन्टाइन खाली भएकाे छ ।
विदेशबाट आइ फिदिमस्थित क्वारेन्टाइनमा बसेका ४जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारैजनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक संक्रमित देखिएका ३ जना पुरुष कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टाइनमा बस्नेको संख्या समेत शून्यमा झरेको छ ।
पाँचथरमा जेठ ३ गते पहिरो पटक कोरोना संक्रमित भेटिएका थिए । याङवरक गाउँपालिका घर भइ वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । संक्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् ।
साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस संत्र,mमण पुष्टि भएको थियो ।
उनीहरुमध्ये दोस्रो संक्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी २ जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासनले सबै संक्रमित निको भएको तथा क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टाइन पूर्णरुपमा खाली भएका छन् । क्वारेन्टाइनमा बसेका तथा अन्य गरी जिल्लामा ७ सय ७९ जनाको स्वाब परीक्षण गरिएको छ । २ हजार २ सय ३ को आरडिटी गरिएको छ । यहाँका ७ सय २२ बेडको क्वारेन्टाइनमा तथा ३६ बेडको आइसोलेन कक्ष पहिलोपटक पूर्णरुपमा खाली भएका छन् ।