काठमाडौं । शीर्ष नेताहरूको आन्तरिक किचलोले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक धकेलिँदै गएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको आपसी टक्करले स्थायी समिति बैठक सर्दै गएको हो ।
पार्टीको मेरुदण्ड मानिन्छ नेकपाको स्थायी समिति । पार्टीको विभिन्न निर्णयको अनुमोदनसँगै सरकारलाई निर्देशन गर्ने अधिकारसम्म छ स्थायी समितिलाई । पार्टीमा शक्तिशाली अंग मानिएको स्थायी समिति तर पछिल्लो समय आफै कमजोर बन्दै गएको छ । शीर्ष नेताहरुको नेतृत्व हानथापले स्थायी समिति कमजोर मात्र होइन, अनिर्णित समेत बनेको छ । पार्टी नेतृत्वको हिसाले स्थायी समिति सचिवालयपछि दोस्रो स्थानमा छ ।
एमाले र माओवादीबीचको एकीकरणपछि नेकपा घोषणा भएको २ वर्ष नाघेको छ । दुई पार्टीबीच एकता घोषणा भएको ११ दिनपछि नेकपाले २०७५ जेठ १६ गते ४५ सदस्यीय स्यायी समिति बनाएको हो । नेकपाको स्थायी समितिमा एमाले पक्षका २६ र माओवादी पक्षका १९ नेता छन् । पार्टी विधानमा स्थायी समितिमा एक तिहाई महिला हुनु पर्ने उल्लेख छ । तर स्थायी समितिमा अहिले अष्टलक्षमी शाक्य र पम्फा भुसाल मात्र हुनुहुन्छ ।
नेकपाको विधानमा ३, ३ महिनामा स्थायी समिति बैठक गर्ने उल्लेख छ । त्यसबाहेक स्थायी समितिका २५ प्रतिशत सदस्यले चाहे पनि बैठक बस्न सकिने प्रावधान छ । तर नेकपाको विधान अनुसार अहिलेसम्म स्थायी समितिको बैठक प्रयाप्त रुपमा भएको छैन । स्थायी समिति बैठक अहिलेसम्म सदस्यहरुको शपथसहित ३ पटक मात्र बसेको छ । एकतापछि बनेको प्रदेश, जिल्ला र विभिन्न जनवर्गीय संगठन कमिटी अनुमोदन गर्न दोस्रो पटक स्थायी समितिको बैठक बस्यो । त्यसपछि अमेरिकी मिलिनियम च्म्यालेन्ज (एमसीसी) बारे छलफल गर्न गएको मंसिर अन्तिम साता तेस्रो पटक स्थायी समिति बैठक बोलाइएको थियो । नेकपामा सचिवालयले गरेको निर्णय स्थायी समितिले अनुमोदन गर्नुपर्ने प्रावधान छ । पार्टीमा स्थायी समितिको भूमिका महत्वपूर्ण छ । स्थायी समिति महत्वपूर्ण भएपनि नेतृत्वले त्यसलाई बेवास्ता गर्दै आएको छ ।
नेकपाले पछिल्लो पटक एमसीसी, कोरोना भाइरस संक्रमणको अवस्था र सरकारको कार्य समीक्षाको लागि असार १० गते स्थायी समिति बोलाएको थियो । तर बैठक २ दिनसम्म कार्यसूची अनुसार चलेर यी विषयबारे ठोस निष्कर्षमा नपुगी अहिलेसम्म अन्योलपूर्ण अवस्थामा गुज्रिरहेको छ । असार १७ गतेको तेस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका १२ नेताले भारतसम्बन्धी अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि स्थायी समिति अन्योलमा परेको हो । प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा छिमेकी मुलुक भारत आफूलाई हटाउने योजनामा लागेको अभिव्यक्ति दिनुभएको छ । अध्यक्ष दाहाल तथा वरिष्ठ नेताद्वय नेपाल र नेपालले प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक र कुटनीतिक मर्यादा विपरीत भएको भन्दै राजीनामा माग्नु भएको हो । बैठकमै राजीनामा मागेपछि पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओली अर्का अध्यक्ष दाहाल तथा वरिष्ठ नेताद्वय नेपाल र खनालप्रति शसंकित हुन थाल्नु भयो । त्यसले नेतृत्वबीच किचलो बढ्दै गयो र पछिल्लो समय त्यो छताछुल्ल नै भएको छ ।
नेतृत्वबीचको विवादको मार स्थायी समितिले व्यहोर्नु परेको छ । असार १० गते शुरु भइ ५ दिनमै टुंग्याउने भनिएको स्थायी समिति बैठक नेतृत्वबीचको विवादकै परपर धकेलिँदै गएको छ । स्थायी समिति बैठक असार १९ गतेबाट २१, २४, २६ तर साउन २ हुँदै साउन ४ गते आइतबारसम्म पुर्याएको छ । पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानको लागि अध्यक्षद्वय ओली र दाहालबीच सहमति नजुट्दा त्यसको असर स्थायी समितिमा परेको हो । अध्यक्षद्वय ओली र दाहालबीच अझै सहमति जुटिसकेको छैन । सहमति जुटाउनकै लागि भन्दै यसबीचमा अध्यक्षद्वय ओली र दाहालबीच असार १८, १९, २१, २२, २३, २४, ३१ र साउन १, २ र ३ गते गरी १० पटक छलफल भइसकेको छ । तर अध्यक्षद्वयमा अझै सहमति जुटिसेको छैन । अध्यक्षद्वय ओली र दाहालबीचको टक्करले स्थायी समिति बैठकलाई अझै ठक्कर लाग्ने देखिएको छ ।