काठमाडौं । मुलुकको प्रधानमन्त्रीमा अन्तत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली नै अडिनु हुने भएको छ । नेकपाले ओली नेतृत्वको सरकारलाई नै टिकाउने निर्णय गरेको छ ।
नेकपाको शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीचको छलफलपछि बसेको सचिवालय बैठकले अहिलेको सरकारलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको जानकारी दिनुभएको छ । प्रवक्ता श्रेष्ठले घुमाउरो पारामा ओली सरकार नै टिक्ने प्रष्ट्याउनु भयो ।
‘ पार्टीमा उठेको विभिन्न विषयमा छलफल भयो’ , प्रवक्ता श्रेष्ठले बैठकपछि संचारकर्मीहरुसँग भन्नुभयो ‘पार्टीको एकतालाई रक्षा गर्ने र जनताले जुन अादेश दिएको छ, त्याे जनादेश अनुसार नै सरकार संचालन गर्ने निर्णय भएको छ ।’
‘बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद छोडनु पर्ने कुरा उठ्यो कि उठेन ? उहाँको राजीनामाबारे के भयो ?’ भन्ने संचारकर्मीको जिज्ञाषाको प्रतिवाद गर्दै उहाँँले भन्नुभयो, ‘कसले कहाँ माग्यो प्रधानमन्त्रीको राजीनामा ? बाहिर कसले कहाँ के गर्यो थाहा छैन तर बैठकमा कसैले राजीनामा मागेको छैन बैठकमा त्यसबारे कसैले केही कुरा गरेको छैन ।’
प्रवक्ता श्रेष्ठले पार्टी पद्धति र विधि अनुसार संचालन गर्नेबारे आइतबार स्थायी समिति बैठकमा छलफल हुने जानकारी दिनुभयो । ‘पार्टीमा देखिएको संकट समाधान गर्न सबैले आआफ्नो तहबाट गृहकार्य जारी राख्ने सहमति भएको छ’ उहाँँले भन्नुभयो, ‘निर्धारित समय अनुसार भोलि स्थायी समिति बैठक बस्छ । पार्टीमा उठेका अन्य विभिन्न बिषयमा त्यही छलफल हुन्छ ।’
अध्यक्षद्वय ओली र दाहाल बैठक लगत्तै राष्ट्रपतिलाई भेट्न शीतल निवासअध्यक्षद्वय ओली र पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शनिबार साँझ शीतल निवास पुग्नु भएको छ । अध्यक्षद्वय ओली र दाहाल सचिवालय बैठकपछि शीतल निवास जानु भएको हो । दुई नेता एकसाथ शीतल निवास जानु भएको हो ।