काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाएका गोकुल बाँस्कोटा पछिल्लो समय फेसबुक तथा ट्वीट टिप्पणीमै खुम्चिनु परेको छ । सरकारको प्रवक्ता बनेर सत्तामा हालीमुहाली गरेका बाँस्कोटाले ५ महिनाअघि नचाँहदा–नचाहँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिनु परेको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणपछि बाँस्कोटाले राजनीतिमा ७० करोडको उपाधि गुथेका छन् ।
७० करोड प्रकरणपछि बाँस्कोटा सार्वजनिक कार्यक्रममा विगतमा जस्तो गर्जनका साथ सहभागी हुने अवस्था छैन । कतै कार्यक्रममा उनलाई देख्ने बित्तिकै कार्यकर्ताले नै भन्न थाल्छन्– ऊ ऊ ७० करोड.....। अकस्मात् परिस्थिति यस्तो भएपछि उनी पछिल्लो समय प्रधानमन्त्री ओलीको बाल्कोटस्थित निवासमै सिमित भएका छन् । ओली निवास कुर्नु तथा हरेक क्रियाकलापमा प्रधानमन्त्रीको बचाउ गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको विरोधमा सामाजिक संजालमार्फत दिनहुँ २, ४ शब्द फ्याक्नु उनको जिम्मेवारी र दैनिकी बनेको छ ।
पार्टीका कार्यकर्ता र जनताले नरुचाए पनि उनले फेसबुक तथा टुवीट्मार्फत् गुटको संकीर्णता व्यक्त गरिरहन्छन् । उनले फेसबुक तथा टुवीट्मा लेख्ने बित्तिकै प्रतिक्रियाको ओइरो लाग्छ–७० करोड ....। तै पनि उनले लेख्न छाड्दैनन । पार्टीमा पछिल्लो समय अध्यक्षद्वय ओली र दाहालबीचको असमजदारीबारे पनि बाँस्कोटाले लेखेका छन्– भगवान भण्डारी आजकल कहाँ छन मलाई थाहा छैन। तर नेकपा उनले गाएको गीत जस्तै छ 'तिमी धरान म भएँ चितौन,वनमा काँडा छ तर विरानो नसम्झ माया गाढा छ।’
एमालेको पृष्ठभूमिकै चर्चित गायक भण्डारी पनि के कम । पछिल्लो समय अमेरिकामा बस्दै आएका भण्डारी उहीँबाट फेसबुकमै त्यसको जवाफ दिएका छन्– म यतै औरीका तिर छु गोकुल जी , के गर्ने दोहोरीमा तपाईहरूलाई जित्न सकिएन क्यारे , बेला बेलामा फेसबुक पोष्टमा सम्झिराको हुन्छु हेर्दै गर्नुहोला । हुन त तपाईलाई नसम्झने नेपाली को होला र ? मलाई र मेरो गीतलाई सन्झिनुभएको मा धेरै धेरै धन्यवाद।
कुनै बेला आफ्नो कला एमालेका संगठन बिस्तारमा लगाएका भण्डारीले सामाजिक संजालमार्फत नै प्रधानमन्त्री ओलीलाई समेत केही सुझाव दिएका छन् । ‘सुन केपी बुढा तिम्रा मुख्य सत्रु प्रचण्ड, वामदेव , झलनाथ, माकुने , शेरबहादुर कोही पनि हैन तिम्रा खतरनाक सत्रु त तिम्रै बहालवाला मन्त्रीहरू हुन्’ भण्डारीले फेसबुकमा लेखेका छन्– गोकुल, भानुभक्त ,इश्वर पोख्रेल लगायतले मनपरी गर्दा नी काखी च्यापिरह्यौ।अरू सबैले मौकामा छिर्के हान्न खोजेको मात्रै हो। चाहिने र सक्ने भन्दा बढी गफ लाउन बन्द गरेर ,आफ्नो काममा लाग्नु। गलत मन्त्रीहरूलाई तुरून्तै गलहत्याईदिनु। अझै नी सुध्रिने मौका छ। बुझ्यौ गफाडी बुढा ?’