भगीरथ भण्डारीइलाम । इलामका किसानले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाइरहेका भएपनि तरकारी बेच्न समस्या भएपछि खेतीमा गरेको लगानी उठाउनै नसक्ने भएका छन् । चैत्र ११ गतेदेखि भएको लकडाउनले तरकारी उत्पादनको सिजनमै समस्या पारेपछि तरकारी बेच्न समस्या भएको हो । बिचौलियाको मार्का खेपिरहेका किसान यसपटक लकडाउन र बिचौलिया दुवैका मार्का खेपिरहेका छन् । बन्दको असर देखाउँदै तरकारीमा बिचौलियाले अवसर लिरहेका छन् । सूर्योदय नगरपालिकाकी १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । साताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गर्नुभएकी टीकाले पनि सातामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्नुहुन्थ्यो । तरकारी खेतीमा लागेकी टीका यस पटक तरकारी खेतीबाट सन्तुष्ट हुन सक्नुभएको छैन ।
त्यस्तै सूर्योदय नगरपालिका १४ कै बिन्दु पौडेलले गतवर्ष सातामा दुई सयदेखि तीन सय मुठा टुप्पा बेच्ने गरेपनि यो सिजनमा त्यसरी बेच्न सक्नुभएन । तरकारी बेचेर घर चलाउने गरिरहेकोमा यस पटक घर चलाउन त परै जाओस् लगानी उठाउँनै समस्या हुने भएको छ ।
हेमकुमारी दम्पतीले पनि तरकारी खेती गरिरहेका छन् । उहाँहरुको बारीमा स्कुसको मुण्टा र काँक्रा उत्पादन भइरहेको छ । गतवर्ष एक सातामा दुई सयदेखि तीन सय मुठासम्म स्कुसको मुण्टा (टुप्पा) टिपेर बेचेपनि यस पटक बेच्नमा समस्या भएको छ ।
इलामका सूर्याेदय, इलाम र देउमाई नगरपालिका तथा माइजोगमाई र सन्दकपुर गाउँपालिकाका किसानले यो सिजनमा स्कुसको मुन्टा, आलु, बेमौसमी काँक्रा, सिमी, मुला, धनियाँ, प्याज, लसुनलगायत तरकारी उत्पादन गरेका छन् । तर उत्पादनले बजार नपाउँदा उनीहरूले ‘कौडीको भाउ’ मा बेच्नु परिरहेको छ ।
उत्पादन भएको तरकारी झापाको चारआली, बिर्तामोडलगायत बजार पुग्छ । स्थानीय व्यापारीले किसानबाट संकलन गरेको तरकारी नजिकैका बजारमा पु¥याउने गरेका छन् । किसानको बारीबाटनै व्यापारीले तरकारी उठाएपछि बजारको मूल्य व्यापारीको हातमा पर्छ । ठूलो लगानी गरेर तरकारीको व्यावसायिक खेती गरिरहेका स्थानीय किसान चाहिँ तरकारीको मूल्य नपाएर छट्पटाई रहेका छन् भने व्यापारी भने लुकिछिपी तराईबाट तरकारी ल्याउने र बेच्ने गरिरहेका छन् ।
जिल्लामा किसानले समूह गठन गरेर र व्यक्तिगत रूपमा पनि तरकारीको व्यावसायिक खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा तरकारी खेती गर्न तीन सय ३७ र बेमौसमी तरकारी खेतीका लागि दुई सय ३३ कृषक समूह गठन भएका छन् । आलु खेतीका लागि मात्र पनि जिल्लामा २५ कृषक समूह गठन भएको केन्द्रले जनाएको छ ।
किसानले विशेषगरी बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् । केन्द्रका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा जिल्लामा बैमौसमी रूपमा चार हजार एक सय ९७ मेट्रिक टन (मेट) बन्दा, तीन हजार नौ सय १८ मेट काउली, तीन सय दुई मेट गाजर, नौ सय ८८ मेट मुला, दुई सय ७२ मेट मटरकोसा र ६ सय मेट गोलभेंडा उत्पादन भएको थियो । त्यो वर्ष जिल्लामा पाँच हजार तीन सय ४४ मेट काउली, सात हजार नौ सय १८ मेट बन्दा, तीन सय ३१ मेट ब्रोकाउली, दुई हजार तीन सय ४९ मेट मुला, दुई सय २१ मेट गाजर, नौ हजार ६ सय ४८ मेट रायो, पाँच सय ७१ मेट मटरकोसा र नौ सय ६९ मेट गोलभेंडा, १६ मेट धनियाँ र एक हजार तीन सय ९० मेट लसुन÷प्याज तथा २३ मेट चम्सुर, मेथी र पालुंगो उत्पादन भएको केन्द्रले जनाएको छ ।