काठमाडौं । पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा कम्युनिष्ट आन्दोलनका अग्रणी नेता । वामपन्थी र प्रजातान्त्रिक शक्ति मिलेर पञ्चायती निरंकुशताविरुद्ध लड्नुपर्ने पुष्पलालकै विचारबाट नेपालको राजनीतिक परिवर्तन अघि बढेको हो । पुष्पलाल श्रेष्ठको जन्म विक्रम संवत् १९८१ साल असार १५ गते रामेछापमा भएको हो । उहाँ माता तुलसीकुमारी र पिता भक्तलाल श्रेष्ठका माहिला छोरा हुनुहुन्छ ।
पुष्पलालका दाजु गंगालाल श्रेष्ठ राणाशासन विरुद्ध लागेको अभियोगमा वि सं १९९७ मा शहीद हुनुभएको हो । प्रजातन्त्र प्राप्तिका लागि दाजु गंगालाले लिएको बाटो समाएर पुष्पलाल पनि राजनीतिमा होमिनु भयो । शहीद हुनुअघि भद्रगोल जेलमा दाजुलाई भेट्न जाँदा गंगालालले पुष्पलाललाई भाई मैले सल्काएको प्रजातन्त्रको दियो तिमीले अझ प्रज्ज्वलित बनाउनू भने बमोजिम पुष्पलालले पूरै जीवन जनताको पक्षमा समर्पित गर्नुभयो ।
यही प्रेरणा र प्रतिबद्धता अनुसार पुष्पलालले वि सं १९९८ सालमा नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघको प्रतिज्ञापत्रमा रगतले हस्ताक्षर गरेर मात्र पार्टीमा लाग्न पाइने नियम थियो । पुष्पलालले भारतमा बसेका नेपालीमाझ पनि प्रजातन्त्र प्राप्तिका जनचेतना फैलाउने उद्देश्यले प्रजापरिषद्का सदस्यसँग सम्पर्क गर्नुभयो । प्रजापरिषद् राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने गरी गठन भएको नेपालको पहिरो राजनीतिक दल हो । भारतको पटनाबाट प्रकाशित भएको जनता पत्रिकामा उहाँको सहयोगमा टंकप्रसाद आचार्य लगायतका नेता जेल परेको समाचार विस १९९७ सालमा पटनाबाट प्रकाशित भयो । यसको प्रभावले गर्दा २००४ सालमा नेपाली राष्ट्रिय काँग्रेसले गरेको राणाविरोधी आन्दोलनमा प्रदर्शन चर्कियो । आन्दोलनमा पुष्पलाला श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ साहना प्रधानलगायतले नेतृत्व गर्नुभएको थियो । त्यसले पुष्पलाल राणाशासकको आँखामा बिझाउन थाले ।
आन्दोलनकै क्रममा पुष्पलाल भारतको कलकत्ता पुगेर माक्र्सवाद र लेनिनवादलाई विचारधारा मानेर २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन गर्नुभएको हो । भारतको कलकत बस्दा उनले भारतीय नेतासँग पनि भेटघाट गर्नुभयो । त्यस क्रममा पश्चिम बंगालका कम्यनिष्ट नेता ज्योति बसु तथा अजय चक्रवर्तीसँग पनि उहाँको संगत भयो । पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र प्रचारमा ल्याउनु भयो । यो नै नेपाली भाषाको पहिलो कम्युनिष्ट लेख बन्यो ।
पुष्पलाल श्रेष्ठले र नेतृ साहना प्रधानसँग विवाह गर्नुभयो । विसं २०१५ सालमा भएको आम निर्वाचनका क्रममा पुष्पलाल श्रेष्ठ देशका विभिन्न भागमा पुग्नुभएको थियो । कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुष्पलाल २०१६ सालमा तत्कालीन सोभियत संघ समेत जानु भयो । त्यसै क्रममा उनले चीनको समेत भ्रमण गर्नुभएको थियो ।
विसं २०१७ सालमा राजा महेन्द्रले विशेषाधिकार प्रयोग गरी निर्वाचित सरकार संसद् र संविधान भंग गरेपछि उहाँ भारत निर्वासनमा हुनुभयो । निर्वासनमै रहेका बेला पुष्पलालले विभिन्न समूहमा रहेका कम्युनिष्ट पार्टी समेटेर तेस्रो महाधिवेशन गर्नुभयो । महाधिवेशनमा उहाँले नेपाली कांग्रेस र कम्युनिष्टहरु मिलेर निरंकुश पञ्चायती व्यवस्था समाप्त गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो ।
जनता मुक्ति राष्ट्रको समुन्नतिका लागि सदा विचारशील नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर नयाँ दिल्लीमा रहेको अल इण्डिया मेडिकल इस्टिच्युटमा उपचार हुँदा हुँदै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको वि सं २०३५ साल साउन ७ गते निधन भयो ।पुष्पलालको राजनीतिक योगदानलाई जीवित राख्न पष्पलाल मार्ग,पुष्पलाल मेमोरियल कलेज,पुष्पलाल प्रतिष्ठान तथा पुष्पलाल पार्कको स्थापना गरिएको छ ।
पुष्पलालको अगुवाईमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले आज ७० वर्षको इतिहास पार गरिसकेको छ । यसबीचमा यो पार्टीमा अनेक खण्ड देखिए पनि मूलधार एउटै छ । यही दलले सरकार सञ्चालनको बलियो जनमत प्राप्त गरेको छ । अनेक कष्ट सहेर अग्रजले स्थापना गरेको दलको आदर्श र दायित्व बुझेर उहाँले देखेको सपना साकार पार्ने अभिभारा आजका कम्युनिष्ट नेताको काँधमा छ । नेतृत्वका कारण दल र कार्यदिशामा अलमल भए पुष्पलाल र उहाँका सहयात्रीको त्याग तपस्या र समर्पंण सम्झेर सद्विचार र सहमतिले जनता र राष्ट्रको हितमा काम गर्नुछ । यो नै पुष्पलालप्रतिको यथार्थ सम्मान हुनेछ । पुष्पलाल स्मृति दिवसमा जनता समाचार डटकम श्रद्धासुमन अर्पण गर्दछ ।।