काठमाडौं । बजेटमा समावेश भएका सबै आयोजना र कार्यक्रमको प्रारम्भिक चरणका काम सम्पन्न गरी कम्तीमा १५ कार्तिकबाट काम थाल्नु पर्ने भएको छ । सबै आयोजनाले असोजभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता समेत गरिसक्नुपर्नेछ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै बजेटमा समावेश भएका सबै आयोजना र कार्यक्रमको प्रारम्भिक चरणका काम सम्पन्न गरी कम्तीमा १५ कार्तिकबाट काम थाल्नु पर्ने भएको छ । मार्गदर्शन अनुसार सबै आयोजनाले असोजभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता समेत गरिसक्नुपर्ने भएको छ । ठेक्का सम्झौता भएको मितिले १५ दिन भित्र काम शुरु गर्ने गरी सबै निकायले आयोजना तथा कार्यक्रमलाई कार्यादेश दिनुपर्नेछ ।
खासगरी दशैं र तिहारको बाहनामा पूर्वतयारीका काम अगाडि नगर्ने परिपाटीका कारण नेपालमा आयोजना तथा कार्यक्रम कार्यान्वयन ढिला हुने गरेको र बजेट कार्यान्वयन प्रभावकारी हुन नसकिरहेको भन्दै नयाँ व्यवस्था गरिएको हो । विनियोजित बजेट र वार्षिक स्वीकृत कार्यक्रममा नपरेका आयोजनालाई भने सरकारी निकायले अगाडि बढाउन पाउने छैन । स्रोत सुनिश्चित नभएका र बजेटमा नपरेका आयोजना कार्यान्वयनका लागि अगाडि बढाएमा भने सम्बन्धित पदाधिकारी नै जिम्मेवार हुने गरी मार्गदर्शन बनाइएको छ । यस्ता आयोजना र कार्यक्रमलाई कुनै पनि निकायले बजेट निकासा, रकमान्तर तथा कार्यक्रम संशोधन समेत गराउन पाउने छैन ।
कार्यक्रम तथा आयोजना कार्यान्वयनका दौरान कुनै कानुन बनाउनु पर्ने आवश्यकता भए असोज मसान्तसम्म सक्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । मार्गदर्शन अनुसार कुनै नयाँ ऐन तर्जुमा गर्नुपर्ने वा विद्यमान ऐन संशोधन गर्नु पर्ने भए ऐनको मस्यौदा असोजभित्र मन्त्रिपरिषदमा पेश गरिसक्नु पर्ने भएको छ । विद्यमान नियमावली, कार्यविधि, निर्देशका, मापदण्ड र मार्गदर्शन संशोधन भए साउनभित्रै पूरा गर्नुपर्ने भएको छ । नयाँ ल्याउनु पर्ने भएका भने भदौ भित्र अनिवार्य सक्न अर्थले मातहतका निकायलाई निर्देशन दिएको छ ।
कुनै आयोजना र कार्यक्रम सम्पन्न गर्ने अवधिका लागि जनशक्ति योजनासहित आवश्यक जनशक्ति व्यवस्थापनको कामसमेत साउनभित्रै गरिसक्नुपर्ने भएको छ ।
https://youtu.be/Ltv3p6mi7b8