बाँके । बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । २, ४ वटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आवद्ध भएपछि बाख्राको संख्या थप्दै गएका छन् । साथै व्यावसायिक रुपमा बाख्रापालन समेत गर्न थालेका छन् ।
बाँकेको नरैनापुर गाउँपालिका–६ गंगापुरस्थित कोहोला गाउँमा कार्यक्रम शुरु भएपछि किसानले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेको स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिनुभएको छ । उहाँले कोहोला गाउँ अब बाख्रा स्मार्ट गाउँको नामले चिनिँदै गएको बताउनुभयो । कोहोला बाख्रा स्मार्ट गाउँमा ५० घर परिवारले अहिले व्यावसायिक रुपमै बाख्रा पालिरहेका छन् । हरेक किसानले १२ देखि ५० वटासम्म बाख्रा पालेका छन् ।
अन्य ठाउँमा पनि बाख्रा पालन व्यवसायबाट गाउँका किसानलाई आर्थिकरुपमा सवल बनाउने कार्य भइरहेको छ । बाँकेको नरैनापुर र जानकी गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु गरिएको हो । ती ठाउँमा गत आर्थिक वर्षदेखि बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बाख्रा स्मार्ट गाउँलाई साँच्चिकै स्मार्ट गराउन जलवायु स्मार्ट, प्रविधि स्मार्ट, पोषण स्मार्ट, सिँचाइ स्मार्ट, बजार स्मार्ट र अन्तर्सम्बन्धित स्मार्टलाई विशेष ध्यान दिएर काम भइरहेको छ । बाख्रा स्मार्ट गाउँका लागि प्रदेश सरकारले शुरुको वर्षमा ८० प्रतिशत ५० लाख रुपैयाँ लगानी गरेको छ। २० प्रतिशत स्थानीय तह वा सम्बन्धित किसानले नै लगानी गरेको उहाँले बताउनुभयो ।
“बाख्रा स्मार्ट गाउँका लागि दोस्रो वर्षबाट प्रदेश सरकारले २५ प्रतिशत सहयोग घटाउँदै लैजाने र चार वर्षमा समुदाय कार्यक्रम सम्पन्न गरेर स्थानीय सरकार तथा सम्बन्धित किसानलाई हस्तान्तरण गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो, “बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाख्रालाई सुरक्षित राख्न नयाँ खोर निर्माण गरिएका छन् । बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधिलगायतको व्यवस्थापन गरिएको छ ।”
बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि अहिले बाख्राको सुरक्षा, खानपिन तथा औषधोपचारका लागि पनि किसान उत्साहका साथ लागि परेको छन् । सो कार्यक्रम शुरु भएपछि दिन प्रतिदिन किसान बाख्रापालनतर्फ आकर्षित भएको बाँकेको नरैनापुर गाउँपालिकास्थित कोहोला बाख्रा स्मार्ट गाउँका संयोजक सविर खाँनले जानकारी दिनुभयो । प्रत्येक मंगलबार बाख्रा बिक्रीको लागि बजार लगाउने र बाख्राको मलबाट व्यावसायिक तरकारी खेती गर्ने योजना रहेको कोहोला बाख्रा स्मार्ट गाउँमा अहिले ५ सय बढी बाख्रापालन गरिएको उहाँको भनाइ छ ।