नवीन लोचनमगर रोल्पा । कोभिड विशेष कृषि कार्यक्रमका लागि आएको बजेट सुनिलस्मृति गाउँपालिकाले फिर्ता पठाएको छ । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत जिल्लामा आएको बजेट खर्च नहुने भएपछि जिल्लाको सुनिलस्मृति गाउँपालिकाले फिर्ता पठाएको हाे ।
‘गाउँपालिकामा कोभिड कृषि कार्यक्रम गर्न करिब ४३ लाख बजेट आएको थियो’ गाउँपालिकाका प्रेस संयोजक आशिष भारद्धाजले भन्नुभयो, ‘सूचना आह्वानदेखि पूरै प्रक्रियामा जाँदा समय धेरै लाग्ने देखियो, नसकिने भएपछि फिर्ता गरिएको हो ।’ योजना कार्यान्वयनका लागि बनावटी कागजात बनाउनुपर्ने, बैंकिङ कारोबार हुनुपर्ने जस्ता कार्य गर्न आफूहरुलाई उचित नलागेर कार्यक्रम रोकिएको गाउँपालिकाले जनाएको छ ।
विवाद बढ्दा आन्दोलन घोषणा जिल्लाकै माडी गाउँपालिकामा कोभिड कृषि कार्यक्रम आवेदन छनौट निस्पक्ष नभएको भन्दै स्थानीय युवाले आन्दोलन घोषणा गरेका छन् । स्थानीय भूपेन्द्र बुढामगर नेतृत्वको संघर्ष समितिले माग सम्बोधन नगरिए वडा कार्यालय र गाउँपालिकामा ताला लगाउने समेत घोषणा गरेका छन् ।
‘घरमा सरकारी कर्मचारी रहेका, नेता तथा गाउँपालिकामा कार्यरत कर्मचारीका आफन्तले कार्यक्रम हात पारेका छन्’ भूपेन्द्रले भन्नुभयो, ‘कार्यक्रम प्रक्रियामै खोट छ, यसको पुनरावलोकन हुनुपर्छ ।’ गाउँपालिकाले गलत नियतका साथ काम गरेको उनीहरुको आरोप छ । युवाहरुलाई नेपाली कांग्रेसले समेत साथ दिएको छ । पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनले विरोध कार्यक्रमलाई सम्बोधन समेत गर्नुभयो । त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीले संस्थागत भ्रष्टाचार भएको आरोप लगाउनुभयो । उहाँले कोभिड कृषि कार्यक्रममा छनौटमा परेकाको खाता रोक्का हुनुपर्ने माग समेत गर्नुभयो ।
प्रक्रियामै काम गरेको गाउँपालिकाको दाबी विरोध बढेपछि माडी गाउँपालिकाले पत्रकार सम्मेलन गरी आफूहरुबाट कुनै कमजोरी नभएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले सबै प्रक्रिया पर्याएर काम गरिएकाले आफूहरुलाई राजनीतिक पूर्वाग्रहका साथ आरोप लगाइएको दाबी गर्नुभयो । ‘हामीले कतै गलत काम गरेको भए कानुनी बाटो छँदैछ’ अध्यक्ष पुनले भन्नुभयो, ‘छलफलबाट समाधान गर्नुको साटो सडकमा गएर अनावश्यक राजनीति गर्न खोजिएको छ ।’
आफूहरुले आवेदनमा आएका सबै निवेदन समेत देखाउन तयार रहेको भन्दै अध्यक्ष पुनले युवाहरुलाई भड्काएर कांग्रेसले गलत गरेको बताउनुभयो । विधि र प्रक्रिया पुर्याएर सञ्चालन भएको कार्यक्रममा विवाद सिर्जना नगर्न गाउँपालिकाले आग्रह समेत गरेको छ । कोरोनाका कारण लकडाउन भइरहेको अवस्थामा जमघट तथा हुलहुज्जत गरेर कांग्रेसले नाटक गरेको अध्यक्ष पुनले आरोप लगाउनुभयो । जम्मा आएका ६८ निवेदनमध्ये ६७ वटा स्वीकृत भएको गाउँपालिकाले जनाएको छ । कृषककै खातामा पैसा जाने भएकाले अनियमितता हुन नसक्ने गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले दाबी गर्नुभयो ।
रोल्पा नगरपालिका र थबाङ गाउँपालिकाले कोभिड प्रभावित धेरै भएकाले छनौटमा समस्या भएको बताएका छन् । सुनछहरी गाउँपालिकामा पनि प्रक्रिया अघि बढाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले जानकारी दिनुभयो ।