काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आज ७औं स्मृति दिवस । प्रजातान्त्रिक योद्धा कर्मचार्यलाई नेकपाका साथै अन्य पार्टीका नेता तथा कार्यकर्ताले समेत सम्झिएका छन् । सामाजिक संजालमा शुक्रबार बिहानैदेखि कर्मचार्यलाई स्मरण गर्दै राजनीतिमा उहाँले पुर्याउनु भएको योगदानबारे चर्चा गरिएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कर्माचार्यको स्मृतिमा शुक्रबार विभिन्न कार्यक्रम गर्दैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा स्वर्गीय कर्मचार्यको उल्लेखनीय भूमिका छ । १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर र आमा श्रीकुमारी कर्माचार्यको कोखबाट ललितपुरको झपाटोलमा जन्मिनु भएका नरबहादुर प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्याे ।
उहाँ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा विरोधी आन्दोलनमा लाग्नुभयो । मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभयो । प्रजातन्त्र संघ सक्रिय भइरहेका बेला उहाँलाई कांग्रेसबाट देश र जनताको पक्षमा केही हुँदैन भन्ने लाग्यो । त्यसपछि पुष्पलाल, नारायणविलास जोशी र निरञ्जन गोविन्द वैद्यसँग मिलेर २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित हुनुहुन्थ्यो ।
कर्माचार्य कम्युनिष्ट पार्टी स्थापनापछि उहाँले मजदुर संगठनको नेतृत्व गर्नुभयो। विभिन्न आन्दोलनमा सक्रियता हुँदै उहाँ २०१६ सालमा ललितपुर नगरपालिकाको मेयर बन्नुभयो । त्यसपछि उहाँले नगरपालिकाको नेतृत्व र पार्टीको जिम्मेवारी सँगसँगै अगाडि बढाउनुभयो ।
२०१९ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। पार्टीमा त्यसपछि फुट र विभाजनको श्रृंखला शुरु भयो । उहाँ गुट र फुटमा नलागी स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुन थाल्नु भयो र विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर प्रयास गर्नुभयो ।
चौथो महाधिवेशनसम्म आइपुग्दा विभिाजित भएकाहरुबीच एकता भयो । त्यसपछि चौथो महाधिवेनमा पनि उहाँ फेरि केन्द्रीय सदस्य हुनुभयो । नेकपा एकता केन्द्र निर्माण हुँदा उहाँ एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत हुनुभयो। जीवनको अन्तिम समयमा उहाँ एकीकृत नेकपा माओवादीको संरक्षक हुनुहुन्थ्यो ।
कर्माचार्यले राजनीतिमा विभिन्न आरोह–अवरोह पार गर्नुभयो । यही क्रममा उहाँले विभिन्न पटक जेल र निर्वासित जीवन समेत बिताउनु पर्यो । कर्माचार्य जीवनभर अविवाहित रहनु भयो । ६५ वर्ष राजनीतिमा सक्रिय हुनु भएका कर्माचारीको २०७० साल साउन ९ गते निधन भयो ।