भगिरथ भण्डारी इलाम । माङसेबुङ गाउँपालिकाले सुत्केरी स्याहार तथा पोषण र मातृ शिक्षामा १८ लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७७।७८ का लागि सुत्केरी स्याहार तथा पोषण र मातृ शिक्षामा १८ लाख बजेट विनियोजन गरेको हो ।
सुत्केरी स्याहार तथा पोषणका लागि ५ लाख
गाउँपालिकाले महिला सुत्केरी हुँदा सुत्केरी स्याहार तथा पोषणका लागि अनुदान दिन ५ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष ०७७।८७ का लागि सुत्केरी स्याहार तथा पोषण कार्यक्रम अन्तरगत सो रकम विनियोजन गरेको हो ।
प्रसुतिको नियमित जाँच गराउन, संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न तथा समयमा नै जन्मदर्ता गर्ने कार्यलाई प्रोत्साहित गर्न सुत्केरी स्याहार तथा पोषण कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । सो कार्यक्रम अन्तरगत प्रतिसुत्केरी महिलालाई गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी एकमुष्ठ ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम माङेबुङ गाउँपालिकामा अघिल्लो आर्थिक वर्षदेखि नै सञ्चालनमा आएको हो ।
मातृभाषा शिक्षामा १३ लाख बजेट गाउँपालिकाले मातृभाषा शिक्षाका लागि १३ लाख १४ हजार ६ सय ३० रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन गराउन मातृभाषा पठन पाठन प्रोत्साहन कार्यक्रम अन्तरगत सो रकम विनियोजन गरेको हो ।
मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदानका लागि गाउँपालिकाले रकम विनियोजन गरेको हो ।
कार्यक्रम अन्तरगत माङसेबुङ ५ को किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार दुई सय १० रुपैयाँ र सरस्वती माध्यमिक विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ तथा माङसेबुङ ३ को पवित्र आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार दुई सय १० रुपैयाँ विनियोजन गरेको छ ।
ती सबै विद्यालयमा एक एक जना मातृभाषा शिक्षक दरबन्दी सिर्जना गरी स्थानीय मातृभाषाका रुपमा ‘लिम्बू भाषा’ मा पठनपाठन भइरहेको छ । त्यस्तै स्थानीय मातृभाषा पाठ्यक्रम तथा पाठ्य पुस्तक निर्माणका लागि चार लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।