काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एक ढिक्का भएरै अगाडि बढ्ने बताउनुभएको छ । नेकपाका संस्थापक पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृतिमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय देखिएको विवादको कारण कार्यकर्ताले नेतृत्वलाई खबरदारी गरिरहेको बताउनुभयो ।‘
‘अहिले देशभरी नै तपाईहरुले देखिराख्नु भएकै छ । मुर्दावाद र जिन्दावादका नारा’ उहाँले भन्नुभयो, ‘हामी पार्टीमा छलफलमा छौँ । पार्टीलाई कसरी एकतावद्ध गर्ने पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौं तर देशभरी जुलुश भएको छ । देशभरीका साथीहरुले हामी के गर्ने भनेर सोधिरहेका छन ? हामीले धैर्य लिनुहोस् अहिले केही गर्न पर्दैन पार्टी एकताको पक्षमा उभिनुहोस् भनेर भनिरहेका छौं । तर त्यस खालका प्रचारपनि भइरहेको छन् ।’
अध्यक्ष दाहालले निर्वाचन आयाेगमा नेकपा एमाले नामको पार्टी दर्ता भएपछि शंका उत्पन्न भएको बताउनुभयो ।‘ पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले नाममा पार्टी दर्ता भएको छ । यसले पनि केही शंका गराएको छ’ उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले नेपालको अद्यावधिक नक्शा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्याय संगत नभएको समेत बताउनुभयो । ‘भारतले नक्शा जारी गरेपछि हामीले आफ्नो एक इन्च भूमि पनि छोड्न सक्दैनौ भन्ने उद्घोषसहित स्थायी समितिबाट तुरुन्तै नक्शा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गर्यौं । सरकारलाई यो नक्शा प्रकाशित गर्न ढिलो गर्नु हुँदैन भनेर मंसिरर २९ बाट शुरु भएको स्थायी समितिबाट नक्शा निकाल्ने कुरा गरियो । तर सरकाले नक्शा निकाल्ने भन्दा भूमि नै फिर्ता गर्ने कुरा गरेको तपाईँले सुन्नुभयो होला’ उहाँले भन्नुभयो, ‘पहिले उनीहरुले नक्शा निकाले हामी पनि निकालौं अनि भूमि फिर्ताको काम पनि हामीले गर्नैपर्छ भनेर माघम बसेको केन्द्रीय समिति बैठकमा पनि नक्शा छिटो प्रकाशित गर्नुपर्यो भन्ने निर्णय भयो । तर अन्तिममा आउँदासम्म पनि सरकारले नक्शा प्रकाशनको तयारी गरेन । अन्तिममा नीति कार्यक्रम सम्बन्धी राष्ट्रपतिको सम्बोधन हुने दिन बिहानै बसेको सचिवालय बैठकमा हामीले नक्शा प्रकाशित गर्ने कुरा नीति कार्यक्रममा पर्नै पर्यो भन्यौं । अन्तिममा प्रधानमन्त्री पनि सहमत हुनुभयो र बैठकबाटै मुख्य सचिवलाई फोन गरेर त्यसमा थप्ने कुरा भयो ।’
अध्यक्ष दाहालले पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी हुनुपर्ने बताउनुभयो । ‘हामीले सामूहिक नेतृत्व विकास गर्न सक्यौं की सकेनौं भनेर हेर्ने हो, दुई वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन’ उहाँले भन्नुभयो, ‘जबकि ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ, हामी त्यहाँ चुक्यौं । समस्या आउँदा खुला छलफल नगरी निचोड निकाल्ने विधि अपनाएनौं त्यसले सरकार पार्टीको सम्बन्ध बिग्रियो । कम्युनिष्ट विचार, मार्क्सवाद अनुसार पार्टी भनेको विवेक र सरकार भनेको सत्ता हो । हामीले मान्ने के हो भने विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनेकै हो । सत्ताले पार्टीमाथि हैकम जमाउने स्थिति भयो भने वैज्ञानिक मान्यताभन्दा बाहिरको कुरा हुन्छ । २ वर्ष हेर्यौं भने विवेकले सत्तामाथि होइन कतै सत्ता विवेकमाथि हावी हुने हो कि ? समूहको अधिनस्त व्यक्ति हुने ठाउँमा कतै व्यक्तिको अधिनस्त समूह भएर जाने खतरा पो पैदा भएको हो कि भन्ने तपाईंहरूले विचार गर्नु भएकै होला ?’