हिमाली काखको नेपाली सभ्यतामा प्रकृतिका हर उपजको सम्मान छ । यहाँ चरा पुजिन्छन् । वृक्ष पुजिन्छन् । पर्वतको सम्मान छ । नदीको आदर छ । यति मात्र होइन विषधर सर्पप्रजातिलाई यहाँ नागदेवता मानेर पूजा गरिन्छ । नागको सम्मानमा पर्व नै मनाइन्छ । नागपञ्चमी पर्वमा घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।
श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्वाद भएको पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको हो ।वराहपुराणका अनुसार नागराजले आफ्ना समस्याबारे ब्रह्मासँग संवादगरेपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर बनाई द्वारमाथि टाँसेर पूजा गरिन्छ । नागका अष्टकुल अनन्त वासुकि पद्म,महापदम,तक्षक,कुलीर,कर्कोटक शंख नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही,अक्षता,दुबो,लावा फलफूल चढाई दूध वा खीरको नैवद्य लगाउने चलन छ ।
यसरी नागको पूजा गर्नाले घरमा चटयाङ वज्रपात नपर्ने,अग्निभय र सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ । ब्रह्मवैवर्त पुराणका अनुसार भगवान श्रीकृष्णको पदचिह्न कालयि नागले शिरमा धारण गर्ने भएकाले नागलाई मार्न हुँदैन भन्ने विश्वास छ ।नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारमिा खनजोत गर्नु हुादैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागको नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम शुरु हुने लोककथन प्रचलित छ ।
नाग पञ्चमीका दिन जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । जलमूल,इनार कुवा ,पोखरी धारामा नागको निवास मानेर नागपूजा गर्ने परम्परा छ । यस्ता जलाशयमा कपास वा पीठाको नाग बनाई त्यसमा तीलको कत्ला, मासको आँखा र दुवाको जिब्रो बनाउने चलन छ । स्पर्शक्षमतामा तेज मानिने सरिसृप प्राणी नागका दुई वटा जिब्रा हुन्छन् । नागपञ्चमीका दिन काठमाडौको केन्द्रस्थलमा पर्ने नक्साल नागपोखरीमा नागको विशेष पूजाआजा गरिन्छ । पोखरीको बीचमा रहेको नागको अग्लो प्रतिमामा नयाँ वस्त्र पहिराई शिरबाट दूधले नुहाइदिएर विधिपूर्वक नागको पूजा गर्ने परम्परा छ । यहाँ नागपञ्चमीका दिन नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।
काठमाडौकै कीर्तिपुर नगरपालिकामा पर्ने चोभारतल रहेको टौदहमा पनि नाग पञ्चमीमा नागपूजा गर्नेको भीड लाग्छ । दहको दक्षिणतिर रहेको धारामा स्नान गरी नजिकै रहेको नाग प्रतिमामा नाग पूजा गरिन्छ । यो दह नागराज कर्कोटकको निवास मानिन्छ । पाटनमा मत्स्येन्द्रनाथको रथयात्रा गर्ने बेलामा यहाँ नागलाई विधिपूर्वक निमन्त्रणा गर्ने चलन छ ।
यसै गरी ललितपुरको धापाखेलस्थित नागदहमा पनि नागपञ्चमीमा नागपूजा गर्नेको भीड नै लाग्दछ । यस दहमा वासुकि नाग निवास गर्ने बताइन्छ । दहको उत्तरपट्टि जलमाथि वासकि नागको मन्दिर पनि बनाइएको छ । दहको पश्चिमी किनारमा पनि एउटा मन्दिर बनाइएको छ । दह निकै सुन्दर देखिन्छ । अझ दह किनारमा फुल्ने श्वेत कमलका फूलले दहलाई मनमोहक बनाएका छन् । तालको वरिपरि खेतको हरियाली र विभिन्न वृक्षवनस्पति पनि देखिन्छ । दहको किनारबाट मनोरम प्रकृतिले सजिएको धापाखेल नागदहमा वासुकि नाग बस्ने भएकाले दह वरिपरि फोहर फाल्न नहुने,पौडी खेल्ने होहल्ला गर्ने दहका वस्तु घर लिएर जाने गर्न नहुने मान्यता छ ।
तत्कालीन काठमाडौ खाल्डोमा रहेको कालीदह खोल्दा दहमा रहेका नागमध्ये वासुकिलाई धापाखेल दहमा र कर्कोटकलाई टौदहमा बस्नका लागि व्यवस्था गरिएको जनकथन छ । धापाखेलको जलशोभा र जनआस्था देखेर चिनियाँ यात्री हुयन शाङले आफ्नो यात्रा वृतान्तमा यस दहको पनि नाम उल्लेख गरेका छन् ।
दहमा थुप्रै जलमूल छन् । यो दहको जल खडेरीमा पनि खासै घट्तैन । ग्रामीणजनले यसलाई जलघाटका रुपमा समेत उपयोग गरेका छन् । जलसम्पदाका प्रतीक नाग बस्ने वासस्थानलाई बचाउनु वातावरणीय दृष्टिले पनि महत्वपूर्ण छ । अझ यहाँको दहबाट निस्केको पानीले आसपासका खेतमा धान रोपाञी गरिन्छ । कृषिका लागि यसको ठुलो महत्व छ । पर्यावरण र पर्यटनमा पनि यसले महत्वपूर्ण योगदान गरेको छ । तर वरपर तालमै गाँसेर बनाइएका होटल,आधुनिक माछा पोखरीले यहाँ शानि सौन्दर्य र शुद्धतामा संकट पार्नसक्ने खतरा पनि बढदै छ । वरिपरिबाट फोहर र रसायनयुक्त पानी यहाँ पस्यो भने दहका कमलफूल प्रभावित हुने छन् । जलप्राणीमा प्रतिकूल असर पर्नेछ जलकुम्भी जस्ता झार भरिने छ । दहको दृश्य र अस्तित्वमा नराम्रो असार पार्ने गतिविधि रोक्नु दह प्रेम हो । प्रकृति प्रेम र जलप्राणीको वास्तविक पूजा हो ।
वैदिक सनातन सभ्यतामा पृथ्वीका सारा जीव र प्राणीप्रति सम्मानभाव छ । उनीहरुको पनि मानिसको जस्तै यस धरामा अधिकार छ भन्ने व्यवहार देखिन्छ । यस सभ्यताका देवताले प्राणीप्रेम गरी आफूसँगै राखेका छन् । भगवान विष्णु समुद्रमा शेषनागको आशन बनाई शयन गर्नुहुने भएकाले उहाँलाई शेषशायी विष्णु भन्ने गरिन्छ । भगवान शिव घाँटीमा नागको माला लगाएर नागेन्द्रहाराय बन्नुभएको छ । गुरुगोरखनाथद्वारा नागबन्धन र मत्स्येन्द्रनाथबाट फुकुवाको प्रसंगमा आधारित काठमाडौको मत्स्येन्द्रनाथ तथा मीननाथको जात्रा पनि नागसँगै गाँसिएको छ ।
योगमा कुण्डलिनी नाग रुपकै उत्थान छ । स्वयम्भूमा पञ्चतत्वको पूजा गर्ने क्रममा पृथ्वीको प्रतीक वासुपुर, वायुको प्रतीक वायुपुर,अग्निपुर, अनन्तपुर र जलको प्रतीक नागपुर बनाई पूजा गरिएको छ । हिन्दू बौद्ध शिख,जैन ओमकार परिवारका सदस्यहरु नाग पूजा गर्छन् । नगधुरीबाट बग्ने नदीकिनारमा नागरिक भएर बसेका हैमसभ्यतामा नागको स्थान र मान महान् छ । नागवंशी नागरिकका समाजमा त झन् यसको अर्थ थप प्रगाढ छ ।
जलमूल तथा जलाशयमा रमाउने नागहरुलाई वातावरण शुद्धिका महत्वपूर्ण संकेतका रुपमा पनि लिने गरिन्छ । यिनीहरुबाट कहिले काँही हुने सर्पदंश र विषको दुःख आफैले व्यवस्थापन गर्न जान्नुछ । जानेमा विषबाट विषौधि बनाउन सकिन्छ । मानिसले प्रकृतिका उत्पादनलाई व्यवस्थित गर्न जान्यो भने हर चीज वरदान बन्छन् । अमृत बन्छन् । नागलोकमा अमृत संगृहित रहेको प्रसंगले नाग नै अमृत दिने प्राणी हुन भन्न सकिन्छ । अबको विद्या यसैतर्फको अनुसन्धानमा अग्रसर हुनु छ ।।।